Sagun Khabar
मैनगडे खोलाले बैतडीको अवस्थीगाउँका घर र खेत जोखिममा 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिका–७ को मैनगडे खोलाले गाउँका घर र खेत जोखिममा परेका छन् । खोलाको बहाव गाउँतिर सोझिएपछि स्थानीयबासी त्रसित बनेका छन् । 

श्रीभावर–हाट सडक निर्माणका क्रममा मैनगडे खोलाको धारमाथि सडक निर्माण गरिएपछि घर र खेत जोखिममा परेका स्थानीय महेश अवस्थीले बताए । बर्खाको समयमा खोलाको पानी गाउँमा पसेपछि स्थानीयका ८ ओटा घर जोखिममा परेका छन् भने सैयौं रोपनी जमीन कटान हुने खतरा रहेको उनले बताए । 

सडक निर्माणका क्रममा खोलाको पानी निकासका लागि नाली र कल्भर्ट निर्माण नगर्दा पानी सडक भएर बग्दै गाउँ र खेतमा पुग्ने गरेको स्थानीय नन्दन अवस्थीले बताए । उनले भने,‘खोलाको पानी निकासको व्यवस्था गरिएको छैन् । बर्षातको समयमा खोलाको पानी सडक भएर गाउँमा पुग्छ । बर्खाको भेलले घर र खेत बगाउने जोखिम बढेको छ ।’

खोलाको प्राकृतिक बहावलाई बेवास्ता गर्दै बनाइएको श्रीभार–हाट सडकले अहिले खोलाको धार नै परिवर्तन गरिदिएको छ । खोलाको बहाव अवरुद्ध भएपछि पानी गाउँतिर पसेको अर्का स्थानीय लक्ष्मी अवस्थीले बताए । उनले भने, ‘सडक निर्माण गर्दा मैनगडे खोलाको बहावको बेवास्ता गरिँदा हरेक वर्ष खेत तथा गाउँमा बाढी पस्ने गरेको छ । खोलाको पानी ओरालो बग्नुपर्नेमा पूर्वतर्फ सडक हुँदै खेत तथा गाउँ भएर बग्ने गरेको छ ।’ 

हरेक बर्ष बर्षातको समयमा अवस्थीगाउँका स्थानीयहरुलाई घर–खेत बगाउने चिन्ताले सताउने गरेको छ । सोमबार राति परेको बर्षाका कारण खोलामा आएको बाढी गाउँमा पसेको स्थानीय हरिकृष्ण अवस्थीले बताए । खोलाको पानी गाउँमा पस्दा घर–खेत जोखिममा परेका उनले बताए । 

स्थानीयले खोलाको पानी निकास गर्ने व्यवस्था हुनुपर्ने माग गरेका छन् । खोलाको बहाव सडकका कारण रोकिएकाले गाउँ र खेत बचाउन तत्काल काम गर्नुपर्ने स्थानीय विष्णु अवस्थीले बताए । उनले भने, ‘विकासका कारण हाम्रो जीवन संकटमा पार्ने काम ठीक भएन् । हरेक बर्ष हामीले खोलाको बहाव व्यवस्थापनको कुरा गरिरहेका छौं । हाम्रो माग सुनुवाई हुनुपर्यो ।’

गाउँको समस्याका बारेमा नगरपालिकालाई बारम्बार जानकारी गराउँदा समेत केही सुनुवाई नभएको स्थानीयहरुको गुनासो रहेको छ । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update