Sagun Khabar
सरस्वती संस्कृत माविको नतिजामा देखिएको प्राविधिक त्रुटी सच्याइयो, शतप्रतिशत विद्यार्थी उत्तीर्ण 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका–६ स्थित सरस्वती संस्कृत माविको नतिजामा देखिएको प्राविधिक त्रुटी सच्याइएको छ । उक्त विद्यालयबाट एसईईमा सहभागी भएका सबै १३ जना विद्यार्थी उत्तीर्ण भएका विद्यालयका प्रधानाध्यापक हरिशरण उपाध्यायले बताए । 

यही असार १३ गते शुक्रबारका दिन राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको एसईईको नतिजामा उक्त विद्यालयका विद्यार्थीहरुको सामाजिक बिषय राखेर अनुपस्थित देखाएको थियो । 

जबकि संस्कृत बिषयको पठनपाठन हुने विद्यालयमा पाचौं अनिवार्य बिषयको रुपमा संस्कृत भाषा तथा व्याकरण बिषयको पढाइ हुने गरेको प्रधानाध्यापक उपाध्यायले बताए । परीक्षा नियन्त्रण कार्यालयले उक्त त्रुटी सच्याएपछि विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका उनले बताए । 

सरस्वती संस्कृत माविका १३ जना विद्यार्थीहरुको परीक्षाफलमा सामाजिक बिषय इन्ट्री गरेर अनुपस्थित देखाएपछि नतिजा शून्य देखिएको थियो । परीक्षा नियन्त्रण कार्यालयले उक्त त्रुटी सच्याएपछि विद्यालयका शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीको परीक्षा फाँटमा कार्यरत प्राविधिक सहायक रामचन्द्र भट्टले बताए । 

यो बर्ष विद्यालयका सबै १३ जना एसईईमा उत्तीर्ण भएपछि निकै खुसी लागेको विद्यालयका प्रधानाध्यापक उपाध्यायले बताए ।

परीक्षाफल प्रकाशनपछि विद्यालयको नतिजा शून्य देखिएपछि त्रुटी सच्याउनका लागि प्रधानाध्यापक उपाध्याय आँफै काठमाण्डौं पुगेका थिए । विद्यालयका विद्यार्थीहरुले नपढेको बिषय इन्ट्री गरेर परीक्षाफल आएपछि त्रुटी सच्याउन काठमाण्डौं पुगेको र अहिले शतप्रतिशत विद्यार्थी उत्तीर्ण भएका उनले बताए । 

यस्तै सुर्नया गाउँपालिका–६ स्थित शंकर संस्कृत मावि मूलखटालीका पनि तीनजना विद्यार्थी परीक्षाफलमा त्रुटि देखिएको प्राविधिक सहायक भट्टले बताए । त्रुटी  सच्याउनका लागि परीक्षा नियन्त्रण कार्यालयमा लेखी पठाइएको उनले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार २४, २०८२  ०९:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update