
अछाम –अछामको बयलपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारको स्वामित्वमा आएको छ ।
जिल्लाको साँफेबगर नगरपालिका–७ बयलपाटामा रहेको अस्पतालको पूर्ण स्वामित्व सुदूरपश्चिम सरकारले ग्रहण गरेको हो ।
आगामी भदौ १ गतेदेखि अस्पताल पूर्ण रूपमा सुदूरपश्चिम सरकारको मातहतबाट सञ्चालनमा आउने गरी भएको सम्झौता अनुरूप प्रदेश सरकारले स्वामित्व ग्रहणको प्रक्रियाले औपचारिकता पाएको छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयमा अस्पतालको स्वामित्व हस्तान्तरणसम्बन्धी सम्झौता पत्रमा न्याय हेल्थ नेपालका तर्फबाट कुन्दन दीक्षित र सामाजिक विकास मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले हस्ताक्षर गरेका छन् ।
विगत एक दशकभन्दा बढी समयदेखि न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयलपाटा अस्पतालले सुदूरपश्चिमका दूरदराजका जिल्लाहरूमा निःशुल्क, गुणस्तरीय र अत्यावश्यक स्वास्थ्य सेवा पु¥याउँदै आएको छ । तर, अब प्रदेश सरकार आफैँले संस्थागत रूपमा जिम्मेवारी लिन थालेसँगै यो अस्पतालको आगामी यात्राले नयाँ मोड लिने अपेक्षा गरिएको छ ।
सुदूरपश्चिमका सामाजिक विकास मन्त्री मेघराज खड्काले अब बयलपाटा अस्पताललाई संस्थागत, उत्तरदायी र पारदर्शी ढङ्गले सञ्चालन गर्ने बताए ।
अस्पताललाई प्रदेश सरकार मातहतको ५० शय्याको प्रादेशिक अस्पतालको रूपमा सञ्चालन गर्ने गरी स्वामित्व हस्तान्तरण र ग्रहणसम्बन्धी १७ बुँदे सम्झौता भएको छ । अस्पताल प्रदेश सरकार मातहत आई सकेपछि गठन आदेश लगायतका अन्य प्रक्रियाहरूको काम लगत्तै सुरुवात गर्ने मन्त्री खड्काले बताए । बयलपाटा अस्पतालको गुणस्तरीय स्वास्थ्य सेवाका कुनैपनि कमी आउन नदिने विषयमा आफू प्रतिबद्ध रहेको खड्काले बताए ।
प्रदेश सरकारले बयलपाटा अस्पतालको स्वामित्व ग्रहणसँगै त्यसको पूर्वाधार, जनशक्ति, सेवा गुणस्तर र संस्थागत उत्तरदायित्वलाई अझ स्पष्ट रूपले नीतिगत संरचनामा बाँध्ने तयारी गरेको छ । मन्त्री खड्काले त्यसको लागि आवश्यक मानव स्रोत, सेवा निरन्तरता, तथा स्थानीय समन्वयलाई प्राथमिकतामा राखिने बताए ।