
बैतडी –बैतडीको सुर्नया गाउँपालिका वडा नं ८ को ठेउला प्रभावित क्षेत्रमा दादुरा नभएको पुष्टि भएको छ ।
जेठ अन्तिम सातादेखि सुर्नया गाउँपालिकाको वडा नं ८ का केही व्यक्तिहरुमा ठेउला देखिएपछि विश्व स्वास्थ्य संगठनको टोली पुगेर बिरामीहरुको नमूना संकलन गरेको थियो । ठेउला संक्रमित व्यक्तिहरुमा दादुरा समेत हुन सक्ने आशंकामा ९ जनाको घाँटीको स्वाब संकलन गरिएको थियो भने ६ जनाको रगतको नमूना संकलन गरिएको थियो ।
यही असार ५ गते स्वास्थ्य कार्यालय र विश्व स्वास्थ्य संगठनको टोली प्रभावित क्षेत्रमै पुगेर संक्रमित व्यक्तिहरुको नमूना संकलन गरिएको थियो । स्वाब र रगतको नमूना प्रयोगशालामा परीक्षणपछि दादुरा नभएको पुष्टि भएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
गाउँका १५ जना भन्दा बढीमा ठेउला संक्रमण देखिएपछि उक्त क्षेत्रमा विश्व स्वास्थ्य संगठनको टोली पुगेको थियो । ठेउलाबाट बालबालिकाहरु बढी प्रभावित भएपछि केही समय विद्यालय समेत बन्द गरिएको थियो ।
ठेउलाको संक्रमणबाट बच्नका लागि व्यक्तिगत तथा वातावरणीय सरसफाइमा ध्यान दिन स्वास्थ्यकर्मीहरुले आग्रह गरेका छन् ।