Sagun Khabar
उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई मेलौली नगरपालिकाको नगदसहित सम्मान 

बैतडी–बैतडीको मेलौली नगरपालिकाले कक्षा ८, एसईई र कक्षा १२ मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । 

२०८१ सालको कक्षा ८ को परीक्षा, २०८० सालको एसईई र २०८० सालको कक्षा १२ को परीक्षामा नगरपालिकाभित्र उत्कृष्ट नतिजा ल्याएका विद्यार्थीहरुलाई नगदसहित सम्मान गरिएको गाउँपालिकाकी शिक्षा शाखा प्रमुख मनुकुमारी क्षेत्रीले बताइन् । 

शैक्षिक सत्र २०८१ को कक्षा ८ को परीक्षामा प्रथम भएका मणिलेक मावि काँडाका सुमन दयाललाई २० हजार नगदसहित सम्मान गरिएको छ । दोश्रो भएका धर्मघर मावि सलेनाका नवीन जोशीलाई १५ हजार र तेश्रो भएका मणिलेक मावि काँडाका धिरेन्द्र ओझालाई नगद १० हजारसहित सम्मान गरिएको शिक्षा शाखाका कम्प्युटर अपरेटर महेन्द्रसिंह नायकले बताए ।  

यस्तै २०८० को एसईईमा पालिकाभरी प्रथम भएकी धर्मघर मावि सलेनाकी ज्योति जोशीलाई ३५ हजार, दोश्रो भएकी शितलपुर माविकी प्रतिक्षा बिष्टलाई नगद ३० हजार र तृतीय भएका मणिलेक माविका विजय भट्टलाई नगद २५ हजारसहित सम्मान गरिएको नगरपालिकाले जनाएको छ । 

यस्तै २०८० मा कक्षा १२ को परीक्षामा पालिकाभरी प्रथम भएका मणिलेक माविका दर्शन नेगीलाई ३५ हजार, दोश्रो भएका सोही विद्यालयका नरेशदत्त ओझालाई ३० हजार र तेश्रो भएका मणिलेक माविकै तेज ओडलाई २५ हजार नगदसहित सम्मान गरिएको कम्प्युटर अपरेटर नायकले बताए । 

विद्यार्थीहरुको हौसला बढाउन नगरपालिकाले नगद पुरस्कारसहित सम्मान गर्ने गरेको नगर प्रमुख भीमबहादुर चन्दले बताए । 

गएको दुई बर्षदेखि नगरपालिकाले नगर क्षेत्रभित्रका उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत नारायणबहादुर चन्दले बताए । 
 

प्रकाशित मिति: आइतबार, असार २२, २०८२  १८:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update