
बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिका –६ डोलबासीलाई बर्खाको समय शुरु भएसंगै पहिरो खस्ने चिन्ताले सताएको छ । हरेक बर्ष बर्खाको समयमा खस्ने पहिरोले स्थानीयबासीहरुलाई समस्या भएको छ ।
बर्षात शुरु भएसंगै राति निदाउन समेत डर लाग्ने गरेको स्थानीय लोगसिंह भाटले बताए । बर्षेनी खस्ने पहिरोले हरेक बर्ष क्षति पुर्याउने गरेको उनले बताए । उनले भने,‘पहिरोले चारैतिर जमीन बगाईसकेको छ । बस्ती नै जोखिममा परेको छ । अन्त जान पनि आर्थिक अवस्था कमजोर छ । जोखिम मोलेर बसीरहेका छौं ।’
डोल बस्तीबाट धेरैले बसाइसराई गरिसकेका छन् । पहिरोले घर तथा जमीन बगाएपछि अधिकांश परिवार त्यहाँबाट बसाई सरेका स्थानीय रामदत्त जोशीले बताए । आर्थिक अवस्था कमजोर भएका २० परिवारमात्रै अहिले डोलमा बसोबास गरिरहेका छन् ।
वि.सं २०१८ सालदेखि खस्न थालेको थालेको पहिरोले अहिले पनि गाउँलेलाई सुत्न दिएको छैन । ‘बर्षातको समयमा लगातार आइरहने पहिरोले कतिखेर घरखेत बगाउने थाहा नै हुँदैन । हरेक बर्षातमा अनिदो रात काट्नु पर्छ ।’स्थानीय भोजराज जोशीले भने, ‘हाम्रो गाउँका हरेक घर बांगा छन् । भित्रभित्रै जमीन भासिएपछि घरहरु बांगा भएका हुन् । पहिरोको जोखिममै बाध्यता बस्नुपरीरहेको छ ।’
किसानले हिउँदको समयमा बनाएका गराहरु प्रत्येक बर्षातमा पहिरोले बगाउँछ । खेतमा लगाएको बाली सहित पहिरोले बगाउँदा किसानहरुलाई भोकमरीको समेत समस्या हुने गरेको छ । डोल पहिरोले अहिले सम्म ९ जनाको ज्यान लिइसकेको छ भने २ सय बढी रोपनी खेतीयोग्य जमीन बगाइसकेको छ । अहिले पनि माथिबाट पहिरो खस्ने क्रम नरोकिएको जोशीले बताए । उनले भने ‘२०१८ सालमा एक्कासी पहिरो खसेको हो भन्छन् । उतिबेलादेखि हामी गाउँलेहरु पहिरोको जोेखिममा बसीरहेका छौं ।’
पञ्चायतकालमा डोलबस्तीलाई स्थानान्तरण गर्नुपर्ने भन्दै तत्कालिन राजा विरेन्द्रले हुकुम प्रवांगी समेत दिएका थिए । तर राजनीतिक खीचातानी भएपछि डोलबासीको अन्यत्र बसाई सर्ने सपना अधुरै रह्यो । आर्थिक अवस्था सबल भएकाहरु सबैले तराईतिर जमीन किनेर उतै गइसकेका छन् । तर गरिब र दलित समुदायका नागरिक भने पहिरोको जोखिममै बस्न बाध्य भएका छन् । पछिल्लो समयमा पहिरोले विकराल रुप लिन थालेको स्थानीबासी देवदत्त जोशीले बताए । उनले भने ‘अहिले त पहिरोको जोखिम नभएको कुनै ठाउँ नै छैन् । बर्षातको बेला जाग्राम बसेर रात काट्नुपर्छ ।’
पहिरोले प्रत्येक बर्ष खानेपानीको मूहान बगाउँदै आएको छ । ‘हिउँदको समयमा पानीको मूहान खोजेर धारा बनाउँछौं । तर प्रत्येक बर्ष बर्षातमा पहिरोले पानीको मूहान नै बगाउँछ । त्यसपछि पहिरोसंगै बगिरहेको धमिलो पानी प्रयोग गर्न बाध्य भएका स्थानीय बहादुर भुलले बताए । उनले भने ‘हामीले बनाएका पानी घट्ट,बाटो सबै पहिरोले बगाईसकेको छ । बर्षातको समयमा हामीलाई निकै सकस हुने गरेको छ ।’