Sagun Khabar
बैतडीको सिद्धेश्वर स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा 

बैतडी – बैतडीको पाटन नगरपालिका–८ स्थित सिद्धेश्वर स्वास्थ्यचौकी पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ । शनिवार एक कार्यक्रमकाबीच स्वास्थ्यचौकीलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको सिद्धेश्वर स्वास्थ्यचौकीका प्रमुख बिरबहादुर खातीले बताए । 

पोषणमैत्री स्वास्थ्य संस्था कार्यान्वयन निर्देशिका २०७९ बमोजिम तोकिएका मापदण्ड र सूचकहरु पूरा भएपछि संस्थालाई पौषणमैत्री घोषणा गरिएको उनले बताए ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका १० ओटा अनिवार्य मापदण्ड र १६ ओटा सूचकहरु पूरा भएपछि स्वास्थ्य संस्थालाई पोषणमैत्री घोषणा गर्ने गरिन्छ । पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि १० ओटा अनिवार्य मापदण्ड पूरा गरेको र १६ ओटा सूचकबाट १५ अंक प्राप्त गरेको हुनुपर्ने पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए ।

यो संगै पाटन नगरपालिकाका तीनओटा स्वास्थ्य संस्था पोषणमैत्री घोषणा भएका छन् । यसअघि पाटन नगरपालिका–१ स्थित सकार स्वास्थ्यचौकी र पाटन नगरपालिका –९ स्थित आधारभूत स्वास्थ्य केन्द्र टकरेलाई पोषणमैत्री स्वास्थ्य संस्था घोषणा गरिएको थियो ।

पोषणमैत्री स्वास्थ्य संस्था घोषणा कार्यक्रममा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं वडा अध्यक्ष हरिश बिष्टले वडालाई नै पोषणमैत्री घोषणा गर्ने गरेर कार्ययोजना बनाउने बताए । यसमा सबैले सहयोग गर्नुपर्नेमा उनले जोड दिए । 

सिद्धेश्वर स्वास्थ्यचौकीले नागरिकको आधारभूत स्वास्थ्य सेवामा पहुँच पुर्याउन प्रयास गरिरहेको बताउँदै उनले आगामी दिनमा सेवा विस्तारमा गरिनेमा जोड दिए । 

सिद्धेश्वर स्वास्थ्यचौकीलाई पोषणमैत्री घोषणा कार्यक्रममा पाटन नगरपालिकाका प्रमुख गौरीसिंह रावल, उपप्रमुख कमलसिंह बोहरा, वडा नं ८ का अध्यक्ष हरिश बिष्ट, वडा नं ९ का अध्यक्ष कालुसिंह भाट, वडा नं १० का अध्यक्ष धनबहादुर कुँवर, वडा नं ६ का वडा अध्यक्ष राजेन्द्रसिंह बिष्ट, स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक रितेन्द्र बडू लगायतका अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।  
 

प्रकाशित मिति: शनिबार, असार २१, २०८२  १७:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update