
बैतडी–गृहमन्त्री रमेश लेखकले जिल्ला प्रहरी कार्यालय, बैतडीमा निरीक्षण गरेका छन् ।
लेखकले आज बिहान जिप्रकाको अनुगमन तथा निरीक्षण गरेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए ।
निरीक्षणका क्रममा लेखकले जिप्रकालगायत जिल्लाका अन्य प्रहरी युनिट र शान्तिसुरक्षाको अवस्थामा जानकारी लिएका छन् ।
गृहमन्त्री लेखकलाई भवन अभावलगायत विषयमा जानकारी गराइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख, प्रहरी नायब उपरीक्षक मकेन्द्र मिश्रले बताए । उनले भने,‘जिप्रकामा महिला बालबालिका सेवा केन्द्र र व्यारेक भवन निर्माण आवश्यक बजेट पहलका लागि आग्रह गरेका छौं ।’
जवाफमा गृहमन्त्री लेखकले आफ्नै कार्यकालमा भवन निर्माणका लागि बजेटको व्यवस्था गर्ने बताएका छन् । गृहमन्त्री लेखकले जिल्लाको समग्र शान्तिसुरक्षाको अवस्थाका बिषयमा पनि जानकारी लिएका छन् ।
गृहमन्त्री लेखकले आज बिहान यहाँको जगन्नाथ मन्दिर र निङ्गलाशैनी भगवती मन्दिरमा दर्शन गरेका छन् । गृहमन्त्री लेखक आजै बैतडीबाट फिर्ता भइसकेका छन् ।
गएको बुधबार बैतडी आएका गृहमन्त्री लेखकले पाटन र सदरमुकाममा नेपाली कांग्रेसले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागिता जनाएका थिए । यस्तै जिल्ला प्रशासन कार्यालयमा जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी भएर समग्र शान्ति सुरक्षाको अवस्थाका बारेमा जानकारी लिएका थिए ।
यस्तै गृहमन्त्री लेखकले यहाँको प्रसिद्ध त्रिपुरासुन्दरी भगवती मन्दिरको जात्रामा सहभागी भएर पूजाआजा गरेका थिए ।