Sagun Khabar
शहीद दशरथ चन्दको १ सय २३ औं जन्म जयन्ती मनाइयो 

बैतडी–शहीद दशरथ चन्दको जन्मभूमी बैतडीमा शहीद दशरथ चन्दको १ सय २३ औं जन्मजयन्ती मनाइएको छ । शहीद दशरथचन्द स्मृति प्रतिष्ठानको आयोजनामा उनको जन्मघर बस्कोटस्थित शालिकमा माल्यार्पण  गरि श्रद्धाञ्जली सभाको आयोजना गरिएको शहीद दशरथचन्द स्मृति प्रतिष्ठानका अध्यक्ष विनोदबहादुर चन्दले बताए । 

दशरथ चन्दको जन्म वि. सं. १९६० असार १७ गते बैतडी जिल्लाको बस्कोटमा पिता शेरबहादुर चन्द र आमा पार्वती चन्दको कोखमा माइला छोराका रूपमा भएको थियो । राणाशासनका विरोधीहरूमा सबैभन्दा सशक्त व्यक्तित्व शहीद चन्दले मानविकी तथा समाजशास्त्र विषयमा वनारसबाट प्रमाणपत्र तह उत्तीर्ण गरेका थिए । 

त्यसअघि उनले नेपालगंज, भारतको अल्मोडा, कुमाउँ, नैनीताल जस्ता ठाउँमा शिक्षा ग्रहण गरेका थिए । तत्कालीन राणा सरकारले वि. सं. १९९७ माघ १५ गते दशरथ चन्दलाई शोभाभगवतीमा गोली हानी मृत्युदण्ड दिएको थियो ।
पछिल्लो समयमा शहीद दशरथचन्द स्मृति प्रतिष्ठानले शहीद चन्दका बारेमा जानकारी दिनका लागि उनको जन्मघरलाई पाहुना घरको रुपमा विकास गरेको छ । 

शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउने प्रयास गरिएको भएपनि अहिलेसम्म सफल हुन नसकेको अध्यक्ष चन्दले बताए । हरेक पटकका सरकारले शहीद दशरथचन्द स्मृति प्रतिष्ठानलाई सरकारी प्रतिष्ठान बनाउने बताएपनि अहिलेसम्म कसैले चासो नदिएको चन्दले बताए । 
 

प्रकाशित मिति: मंगलबार, असार १७, २०८२  १८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update