
बैतडी–माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बैतडीका चारओटा विद्यालयको नतिजा शून्य आएको छ । एसईई सहभागी भएका १२८ सामुदायिक र ५ ओटा संस्थागत विद्यालयमध्ये चारओटा सामुदायिक विद्यालयहरुको नतिजा शून्य आएको शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले जानकारी दिए ।
पुर्चौंडी नगरपालिकाको महादेव मावि त्रिकाली, शिवनाथ गाउँपालिकाको उदय मावि कफाडी र शिवपूर्ण माविको नतिना शून्य आएको छ । यस्तै दशरथचन्द नगरपालिकाको सरस्वती संस्कृत मावि नगतडीको नतिजा शून्य आएको छ । सरस्वती संस्कृत माविको नतिजा गत बर्ष समेत शून्य आएको थियो ।
गत बर्ष जिल्लाभरी १८ ओटा विद्यालयको नतिजा शून्य आएकोमा यो बर्ष भने नतिजामा सुधार आएको छ ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईइ) मा बैतडीमा ३१दशमलव ४९ प्रतिशत परीक्षार्थी मात्रै उत्तीर्ण भएका थिए ।
यो बर्ष बैतडीबाट एसईईमा सहभागी भएका विद्यार्थी मध्ये ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको एसईईमा ४ हजार ३०७ जना परीक्षार्थी मध्ये ४ हजार २ सय १८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए ।
परीक्षामा सहभागी भएकामध्ये २ हजार २ सय ६ जना उत्तीर्ण भएका छन् भने २ हजार १२ जना ननग्रेड अर्थात अनुत्तीर्ण भएका छन् ।