
बैतडी–गत शुक्रबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको एसईईको नतिजा अनुसार बैतडीको मणिलेक मावि गुरुखोलाका ओमप्रकाश भट्ट ‘बैतडी टप’ भएका छन् । दशरथचन्द नगरपालिका–१ कलौन घर भएका भट्ट एसईईमा जिल्ला टप भएका हुन् ।
जिल्लाभरी एसईईमा सहभागी भएका परीक्षार्थीमध्ये भट्टले ३ दशमलव ९६ जीपीए ल्याएर जिल्ला टप भएका शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका सूचना अधिकारी पुष्कर शर्माले बताए ।
मणिलेक मावि गुरुखोलाका विद्यार्थी भट्ट जिल्ला टप भएपछि आफूलाई निकै खुसी लागेको विद्यालयका प्रधानाध्यापक केशवदत्त भट्टले बताए । मणिलेक माविबाट ५९ जना एसईईमा सहभागी भएकोमा १७ जना उत्तीर्ण भएका छन् ।
यस्तै लेकलुपुड मावि गढका सुरेश ऐर ३ दशमलव ९३ जीपीए ल्याएर जिल्ला दोश्रो भएका छन् । यस्तै डिलेश्वरी मावि हाटकी बबिता भण्डारी ३ दशमलव ८४ जीपीए ल्याएर जिल्ला तेश्रो भएकी छन् ।
यस्तै विरेन्द्र मावि शाहीलेकका आर्दश पन्त ३.८१, भूमीराज मावि चडेपानीकी भावना भट्ट ३.८०, शितलपुर माविका प्रशान्तसिंह बिष्ट ३.७९, विरेन्द्र मावि शाहीलेकका सतीश कार्की ३.७८, डिलेश्वरी मावि हाटका दिपक गडाल ३.७८, सनातन धर्म मावि श्रीकोटका विनोद जोशी ३.७८ र उदयदेव मावि किम्तोलीका प्रचण्ड पाण्डेय ३.७७ जीपीए ल्याएर उत्कृष्ट १० भित्र अटाएका छन् ।
बैतडीबाट एसईईमा सहभागी भएका विद्यार्थी मध्ये ५२.२९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा सञ्चालन भएको एसईईमा ४ हजार ३०७ जना परीक्षार्थी मध्ये ४ हजार २ सय १८ जना सहभागी भएका थिए । परीक्षा फारम भरेका ८९ जना परीक्षामा अनुपस्थित रहेका थिए ।
परीक्षामा सहभागी भएकामध्ये २ हजार २ सय ६ जना उत्तीर्ण भएका छन् भने २ हजार १२ जना ननग्रेड भएका छन् ।