
कैलाली –कैलालीको धनगढीमा भारी वर्षापछि घर डुबानमा परेर फसेका आठ जनाको उद्दार गरिएको छ ।
धनगढी उपमहानगरपालिका –७ को बेली गाउँका चार जना र धनगढी–१३ को श्रीलंकाका चार जना गरेर आठ जनाको उद्दार गरिएको प्रहरीले जनाएको छ ।
बेलीका सिताराम रानाको एक तले कच्ची घर डुबानमा परेपछि उनीसहित परिवारका चार जनालाई उद्दार गरेर नजिकै रहेका आफन्तको घरमा सारिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता, प्रहरी नायब उपरीक्षक राजकुमार सिंहले बताए ।
यस्तै धनगढी उपमहानगरपालिका –१३ श्रीलंकाका भागीराम चौधरीसहित परिवारका चार जनाको उद्दार गरेर स्थानीय नवज्योति आधारभूत विद्यालयमा राखिएको छ ।
जिल्ला प्रशासन कार्यालय कैलालीले वर्षाका कारण धनगढी उपमहानगरपालिका क्षेत्रका झन्डै एक हजार घरमा पानी पसेको बताएको छ । जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले धनगढी उपमहानगरपालिका–१, २, ३,४,५,७,८ र १० नम्बर वडा वर्षाका कारण प्रभावित भएको बताए । करिब एक हजार घरधुरीमा पानी पसेपनि अहिलेसम्म क्षति नभएको जोशीले बताए ।
भारी बर्षा सोमवार साँझसम्म भएमा धेरै मानिस प्रभावित हुनसक्ने भएकाले सोहीअनुसार तयारीमा रहेको उनले बताए ।