
बैतडी –बैतडीको दशरथचन्द नगरपालिकाले दलित, अपांगता भएका व्यक्ति र एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ ।
संघीय बिशेष आयआर्जनको कार्यक्रमबाट किसानहरुलाई बाख्रा र उन्नत जातको बोका वितरण गरिएको नगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख ईश्वरीदत्त भट्टले जानकारी दिए ।
नगरपालिकाका ११ ओटै वडामा बाख्रा वितरण गर्ने कार्यक्रम रहेको र अहिलेसम्म वडा नं १,२, ४, ९ र ११ वडामा वितरण गरिसकिएको भट्टले जानकारी दिए ।
समस्यामा रहेका नागरिकको जिविकोपार्जनमा सहज होस भनेर बाख्रा वितरण गरिएको बताइएको छ । वडा कार्यालयमार्फत लाभग्राही छनौट गरेर बाख्रा वितरण गर्ने कार्य भइरहेको भट्टले बताए ।
११ ओटै वडामा ६ सय १५ ओटा बाख्रा र ७० ओटा उन्नत जातका बोका वितरण गरिने भट्टले जानकारी दिए ।
दलित, अपांगता भएका व्यक्ति,एकल महिलाहरुका लागि बाख्रा वितरणले जिविकोपार्जनमा केही सहजता आउने दशरथचन्द नगरपालिकाकी उपप्रमुख कौशिला चन्दले बताइन् । लक्षित वर्गका नागरिकलाई आयआर्जनमा जोड्नका लागि यस्ता कार्यक्रमले सहयोग पुग्ने उनले बताइन् ।