Sagun Khabar
बैतडीको सुर्नया–३ मा शिक्षकहरुका लागि तालिम सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिका–३ मा शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको छ । वडा कार्यालयको आयोजनामा आजदेखि दुईदिने पुनर्ताजगी तालिम शुरु गरिएको वडा सदस्य केशवबहादुर बिष्टले बताए । 

वडाभित्र रहेका सामुदायिक विद्यालयका शिक्षकहरुका लागि तालिम सञ्चालन गरिएको हो । उक्त तालिममा वडाभित्रका पाँचओटै विद्यालयका शिक्षकहरुको सहभागिता रहेको छ । 

भुवनेश्वर मावि गोयली, विश्वेश्वर आधारभूत विद्यालय, केदार आधारभूत विद्यालय डुङरी, वासुदेव आवि तडीगाउँ र केदार आवि बिजुलका ४० जना शिक्षकहरुको सहभागिता रहेको छ । 

तालिममा शिक्षण सिकाइलाई प्रभावकारी बनाउने बिषयमा जानकारी दिने काम भइरहेको बताइएको छ । तालिममा लक्ष्मण बोहराले प्रशिक्षण दिइरहेका छन् । 

शिक्षण सिकाइका आधुनिक पद्दतिका बिषयमा तालिममा जानकारी दिनुका साथै शिक्षण सिकाइलाई प्रभावकारी बनाउने उपायका बारेमा समेत छलफल भइरहेको छ । 

सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तरमा सुधार ल्याउनका लागि वडा कार्यालयले उक्त कार्यक्रम सञ्चालन गरेको सुर्नया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष शम्भुप्रसाद भट्टले बताए । 

वडा अध्यक्ष भट्टको अध्यक्षतामा भएको तालिमको उद्दघाटन सत्रमा गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर प्रमुख अतिथी रहेका थिए । यस्तै तालिम उद्दघाटन सत्रमा गाउँपालिकाका प्रवक्ता प्रताप महरा, शिक्षा शाखा प्रमुख टंकप्रसाद अवस्थी लगायतको सहभागिता रहेको थियो । 

तालिमको उद्दघाटन सत्रमा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले शिक्षा क्षेत्र सुधारलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताए । शिक्षण सिकाइलाई प्रभावकारी बनाउन यस्ता तालिमहरुले सहयोग पुग्ने उनले बताए । 

यस्तै वडा अध्यक्ष भट्टले सामुदायिक विद्यालयहरुको गुणस्तर सुधार गर्न सकेमात्रै समाज सुधार हुने भएकाले शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको बताए । 
 

प्रकाशित मिति: बुधबार, असार ११, २०८२  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update