
कैलाली –कैलालीका १३ स्थानीय तहले १३ अर्ब २६ करोड १४ लाख रुपैयाँका बजेट ल्याएका छन् ।
जिल्लाका सबै स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षका लागि आ–आफ्नो पालिकाको बजेट सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गरेका बजेट सभाबाट पारितसमेत भइसकेका छन् । जिल्लाको विकट मोहन्याल गाउँपालिकाको बजेट असार ८ गते पारित भइसकेको गाउँपालिका अध्यक्ष देवीदत्त उपाध्यायले बताए । मोहन्यालले ६१ करोड ५० लाख रुपैयाँको बजेट ल्याएको छ ।
धनगढी उपमहानगरपालिकाले दुई अर्ब ५६ करोड ५६ लाख रुपैयाँको बजेट ल्याएको छ । यसैगरी, सबैभन्दा कम चुरे गाउँपालिकाले ५२ करोड ८७ लाख ९७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
टीकापुर नगरपालिकाले ९३ करोड ३७ लाख रुपैयाँको बजेट सभामा प्रस्तुत गरेको छ । गोदावरी नगरपालिकाको बजेट एक अर्ब १८ करोड ४५ लाख रुपैयाँ बराबरको रहेको छ भने कैलारी गाउँपालिकाको बजेट ७२ करोड २५ लाख रुपैयाँको रहेको छ । जोशीपुर गाउँपालिकाले ८३ करोड ८६ लाख ५९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जानकी गाउँपालिकाको बजेट ९१ करोड ३७ लाख रुपैयाँ रहेको छ । यसैगरी, लम्कीचुहा नगरपालिकाको बजेट एक अर्ब २० करोड ९९ लाख रुपैयाँ रहेको छ ।
बर्दगोरिया गाउँपालिकाले एक अर्ब दुई करोड ९१ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गौरीगङ्गा नगरपालिकाले एक अर्ब एक करोड ७६ लाख, घोडाघोडी नगरपालिकाले एक अर्ब एक करोड ४० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । भजनी नगरपालिकाले ६८ करोड ७३ लाख ६५ हजार रुपैयाँको बजेट ल्याएको छ ।