
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ का लागि ३८ करोड ४८ लाख २७ हजार ४ सय ४५ रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
गाउँपालिका उपाध्यक्ष शकुन्तला साउँदले गाउँसभामा पेश गरेको उक्त बजेट सर्वसम्मत पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले जानकारी दिए ।
गाउँपालिकाका प्रवक्ता केशवबहादुर चन्दले गाउँसभामा आर्थिक विधेयक पेश गरेका थिए ।
गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि चालु खर्चतर्फ १० करोड ३० लाख ७६ हजार विनियोजन गरेको छ भने पूँजीगततर्फ ११ करोड ३१ लाख ५१ हजार ४४५ रुपैयाँ विनियोजन गरेको छ । यस्तै गाउँपालिकाले सशर्त अनुदानतर्फ १६ करोड ८५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
गाउँपालिकाले नीति तथा कार्यक्रममा आधारित रहेर आगामी आर्थिक बर्षको बजेट ल्याएको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए ।