Sagun Khabar
सुर्नयाको नीति तथा कार्यक्रम पारित, ४५ करोड बढीको बजेट गाउँ सभामा पेश 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम गाउँसभाबाट पारित गरेको छ । मंगलबार उपाध्यक्ष मञ्जु बोहराले गाउँसभामा पेश गरेको नीति तथा कार्यक्रम सभाबाट सर्वसम्मत रुपमा पारित भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए । 

‘कृषि पर्यटन र पूर्वाधार, सुर्नया विकासको मूल आधार’नारासहित गाउँपालिकाले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम ल्याएको उपाध्यक्ष बोहराले बताइन् । गाउँसभाले पारित गरेको नीति तथा कार्यक्रममा युवाहरुलाई रोजगारीमा जोड्ने खालका कार्यक्रम ल्याउने उल्लेख गरिएको छ । 

युवाहरुलाई आन्तरिक रोजगारीमा जोड्नका लागि रोजगारदाता र रोजगारीको खोजीमा रहेकाहरुकाबीच समन्वय गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै शिक्षा क्षेत्रमा सुधार ल्याउनका लागि कक्षा ५ र ८ को पालिकास्तरीय परीक्षा सञ्चालन गर्ने, सुर्नयामा विद्यालय नर्स कार्यक्रम सञ्चालनमा ल्याउने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउने, आयुर्वेद उपचार पद्दतिमा नागरिकको पहुँच बढाउने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै पाताल भुवनेश्वर धाम, रौलाकेदार लगायतका धार्मिक पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

सभाध्यक्ष एवं सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले समृद्ध र समुन्नत सुर्नयाका लागि सबैको सहकार्य आवश्यक रहेको बताएका छन् । 

यस्तै सभामा उपाध्यक्ष मञ्जु बोहराले आगामी आर्थिक बर्षका लागि ४५ करोड २२ लाख १० हजार ५७ रुपैयाँ बराबरको बजेट पेश गरेकी छन् । 

उक्त बजेटमाथि कार्यपालिकामा छलफल गरिने बताइएको छ । बजेट बाँडफाँडका बिषयमा कार्यपालिकामा छलफल गरेर पुनः असार १६ गते गाउँसभामा लगिने प्रमुख प्रशासकीय अधिकृत जोशीले बताए । 

sava-1750768385.jpg
 

प्रकाशित मिति: मंगलबार, असार १०, २०८२  १८:२०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update