
बैतडी–बैतडीको पाटन नगरपालिकाले आगामी आर्थिक बर्ष २०८२÷८३ को बजेट बहुमतले पारित गरेको छ । नगर उपप्रमुख कमलसिंह बोहराले आफ्नो सहभागिता बिना बजेट ल्याएको भन्दै नगरसभामा आफ्ना कुरा राखेर बाहिरिएका थिए ।
उपप्रमुख बोहरा बाहेकका सबै नगर सभा सदस्यहरुको सहमतिमा ६६ करोड ९३ लाख १७ हजार रुपैयाँ बराबरको बजेट पारित गरिएको नगर प्रमुख गौरीसिंह रावलले बताए । उपप्रमुख नगरसभाबाट बाहिरिएपछि नगर प्रमुख रावलले आँफैले बजेट प्रस्तुत गरेका थिए ।
नीति, विधि र प्रणालीमा टेकेर बजेट नआएकाले आफू बाहिरएको नगर उपप्रमुख बोहराले टिप्पणी गरे । उनले पत्रकार सम्मेलनमार्फत आफ्नो सहभागिता बिना बजेट ल्याएको बताएका छन् । आफ्नो सहभागिता बिनाको बजेट बाचन गर्ने अवस्था नआएकाले आफू सभाबाट बाहिरिएको उनले बताए ।
यसअघि सोमबार नै बजेट पारित गर्ने तयारी गरिएको भएपनि उपप्रमुख बोहरा अनुपस्थित भएपछि नगरसभा स्थगित गरिएको थियो ।
नगर उपप्रमुख बोहराले आफूखुसी बजेट निर्माण गरिएको आरोप लगाएका छन् । विभिन्न शीर्षकमा राखिएका बजेटहरु कटौती गरिएको उनले बताएका छन् ।