
डडेल्धुरा –डडेल्धुराको अजयमेरु गाउँपालिकाले विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरेको छ । सम्भावित विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजना निर्माण गरिएको गाउँपालिका अध्यक्ष उमेश भट्ट (विकास)ले जानकारी दिए ।
गाउँपालिकाले राष्ट्रिय मुक्त हलिया समाज महासंघको आर्थिक तथा प्राविधिक सहयोगमा विपद् पूर्व तयारी तथा प्रतिकार्य योजना निर्माण गरेको हो । योजनाले विपदबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सहयोग पुग्ने गाउँपालिकाकी उपाध्यक्ष वसन्ती पालले बताइन् ।
प्रत्येक वडाबाट जोखिम नक्साकंन गरेर योजना निर्माण गरिएको राष्ट्रिय मुक्त हलिया समाज महासंघका कार्यक्रम संयोजक तेजराम लोहारले जानकारी दिए । उक्त योजना स्थानीय विपद् व्यवस्थापन समितिले पारित गरिसकेको उनले बताए ।
योजना निर्माण भएर पारित भएसंगै विपदबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजना अनुसार काम हुने लोहारले बताए । यस्तै विपद्को समयमा प्रभावित हुन सक्ने समुदाय र नागरिकलाई आवश्यक सहयोग गर्न समेत योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने कार्यक्रम संयोजक लोहारले बताए ।
योजनामा गाउँपालिकाभित्रका सम्भावित प्रकोप र तिनीहरुले निम्त्याउन सक्ने विपद्का बिषयमा विश्लेषण गर्दै क्षति न्यूनीकरणका उपाय समेटिएका छन् । यस्तै विपद्को समयमा प्रभावित हुन सक्ने महिला, बालबालिका र जेष्ठ नागरिकलाई पुर्याउन सकिने सेवा र सहयोगका बिषय समेत योजनामा समेटिएको लोहारले बताए ।