Sagun Khabar
माओवादी केन्द्र बैतडीको कार्यालयमा आगजनी प्रकरण : दोषी पत्ता लगाइ कारवाही गर्न माग 

बैतडी–नेकपा माओवादी केन्द्र बैतडीको कार्यालयमा आगजनी गरिएको बिषयमा सत्यतथ्य पत्ता लगाउन माओवादी केन्द्रले आग्रह गरेको छ । कार्यालयमा गरिएको आगजनी सामान्य बिषय नभएकाले दोषी पत्ता लगाइ कानुनी कारवाहीको दायरमा ल्याउन आग्रह गरेको हो । 

माओवादी केन्द्र बैतडीका संयोजक शंकर भण्डारीले शनिबार एक विज्ञप्ती जारी गर्दै कायरतापूर्ण ढंगले पार्टी कार्यालयमा आगजनी गरिएको बताएका छन् । प्रतिशोधपूर्ण तरीकाले पार्टी कार्यालयमा आगजनी गरिएकाले यो बिषयमा सत्यतथ्य पत्ता लगाउन स्थानीय प्रशासनलाई आग्रह गरेको संयोजक भण्डारीले बताए । 

शनिबार साँझ पौने ६ बजेतिर माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा गरिएको आगजनीबाट फर्निचर, पार्टीका महत्वपूर्ण दस्तावेजहरु जलेर नष्ट भएका छन् । 

पार्टी कार्यालयमा आगजनी गर्नेको अहिलेसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलदेव बडूले बताए । माओवादी केन्द्रको पार्टी कार्यालयमा आगजनी गरिएको घटनाको अनुसन्धान भइरहेको  उनले बताए । 

यसैबीच नेकपा एमाले बैतडीले एक विज्ञप्ती जारी गर्दै आगजनीको घटनामा संलग्नको पहिचान गरी दोषीलाई कारवाही गर्न माग गरेको छ । एमाले बैतडीका अध्यक्ष नरेशकुमार विश्वकर्माले एक विज्ञप्ती जारी गर्दै घटनाको निन्दा गरेका छन् । 

समाजमा हुने यस्ता खालका अपराध र दुष्कर्महरुको निर्मुल गरी सार्वजनिक सम्पत्तिको सुरक्षा र नागरिकको सुरक्षामा ध्यान दिनु राज्यको दायित्व भएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।  
 

प्रकाशित मिति: आइतबार, असार ८, २०८२  १७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update