
बैतडी–बैतडीका केही ठाउँमा मकैबालीमा फौजी किराको प्रकोप देखिएको छ । मुख्य खाद्यबालीको रुपमा रहेको मकैमा फौजी किराको प्रकोप देखिएपछि किसानहरु चिन्तित बनेका छन् ।
जिल्लाको दोगडाकेदार गाउँपालिका र शिवनाथ गाउँपालिकाका केही स्थानमा फौजी किराले मकैबाली नष्ट गर्न थालेको मौखिक जानकारी आएको कृषि ज्ञान केन्द्र बैतडीका प्रमुख हरिदत्त जोशीले बताए ।
फौजी किरा देखिएको ठाउँमा स्थलगत अध्ययनपछि मात्रै थप जानकारी प्राप्त हुने उनले बताए । फौजी किराको प्रकोप नियन्त्रणका लागि बिषादीको प्रयोग गर्नुपर्नेमा जोशीले जोड दिए ।
फौजी किराले मकैको बोट सखाप पार्ने गरेको दोगडाकेदार –७ का दीपेन्द्र कार्कीले बताए । पार्याप्त मात्रामा बर्षा नहुँदा फौजी किराले मकैबाली नष्ट गर्न थालेको कृषि प्राविधिकहरुले बताएका छन् ।
मकैको पकेट क्षेत्रको रुपमा रहेको बैतडीमा फौजी किराले मकै नष्ट गर्न थालेपछि उत्पादनमा ह्रास आउने अनुमान गरिएको छ । हरेक बर्ष मकैमा फौजी किराको प्रकोप देखिँदै आएको किसानहरुले बताएका छन् ।
बैतडीमा १३ हजार हेक्टर जमीनमा मकै खेती गर्ने गरिएको छ ।