
बैतडी–बैतडीको सुर्नया –७ मा जनतासंग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको छ । सुर्नया गाउँपालिकाको आयोजना र रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जको सहजीकरणमा भुवनेश्वर मावि चौथलीमा कार्यक्रमको आयोजना गरिएको हो ।
शनिबार सञ्चालन गरिएको कार्यक्रममा स्थानीय नागरिकहरुले उठाएका प्रश्नको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर, वडा अध्यक्ष भक्तबहादुर कुँवर लगायतका जनप्रतिनिधिले जवाफ दिएका थिए ।
कार्यक्रममा स्थानीयहरुले विकास निर्माण, रोजगारी र आगामी बजेटका बिषयमा प्रश्न गरेका थिए ।
कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले स्थानीय नागरिकका गुनासा सम्बोधनका लागि कार्यक्रमको आयोजना गरिएको बताए । गाउँपालिकाले अहिले पनि विकास निर्माणमा पछाडि परेका टोल,बस्तीहरुलाई लक्षित गरेर विकास निर्माणका कामहरु सञ्चालन गरिरहेको उनले बताए ।
यस्तै वडा अध्यक्ष भक्तबहादुर कुँवरले वडाका टोलबस्तीबाट आएका योजनाहरुलाई प्राथमिकतामा राखेर काम भइरहेको दाबी गरे ।
पछिल्लो समयमा सतबाँझ–श्रीभावर सडक स्तरोन्नतिका लागि काम भइरहेको बताउँदै गाउँपालिका अध्यक्ष कुँवरले दुर्गमका बस्तीहरु सडक सञ्जालमा जोडिएका बताए । यस्तै शिक्षा, स्वास्थ्य, खानेपानी र कृषिका कार्यक्रमहरुलाई प्राथमिकतामा राखेको उनले बताए ।