
बैतडी–बैतडीको सिगास गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको छ ।
मंगलबार एक कार्यक्रमको आयोजना गरेर गाउँपालिकालाई पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक भीमसिंह ऐरीले जानकारी दिए ।
गाउँपालिकाभरीका खोप पाउनुपर्ने उमेरका बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको सुनिश्चित भएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको उनले बताए ।
गाउँपालिकाभित्र रहेका जन्मेदेखि ५ बर्षसम्मका १ हजार ८७ जना राष्ट्रिय खोप तालिका अनुसार खोप पाएको बताइएको छ । बालबालिकाहरुले खोप पाए÷नपाएको बिषयमा घरधुरी सर्वेक्षण गरिएको थियो ।
गाउँपालिकालाई हरेक बर्ष पूर्णखोप सुनिश्चित गाउँपालिका घोषणा गर्ने गरिएको छ । यसको निरन्तरता र दिगोपनाका लागि सरोकारवालाहरुले प्रतिबद्धता व्यक्त गरेका छन् ।
बालबालिकाहरुलाई विभिन्न १३ ओटा रोगविरुद्ध राष्ट्रिय खोप तालिका अनुसार खोप दिने गरिएको छ ।
गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष हरिसिंह धामीले स्वास्थ्य क्षेत्र सुधारका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए ।
यस्तै उक्त कार्यक्रममा उपाध्यक्ष धाना धामीले खोप कार्यक्रम र स्वास्थ्यका अन्य कार्यक्रमहरुलाई प्रभावकारी रुपमा सञ्चालन गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताइन् ।
गाउँपालिका अध्यक्ष धामीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष धाना धामी, वडा अध्यक्ष, स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
यसैबीच गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणमा सहयोग पुर्याएको भन्दै ९ ओटै वडामा रहेका ११ ओटा स्वास्थ्य संस्थाहरुलाई प्रशंसापत्र प्रदान गरिएको जनस्वास्थ्य निरीक्षक ऐरीले बताए ।