
बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा निर्माण भइरहेको पालिकास्तरीय १० शैय्याको आधारभूत अस्पतालको ७० प्रतिशत निर्माणको काम सम्पन्न भएको छ ।
वडा नं ५ मा निर्माण भइरहेको उक्त आधारभूत अस्पतालको निर्माण कार्य तीव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए ।
सिएम एसके शिवलिङ्ग जेभीले निर्माण गरिरहेको उक्त आधारभूत अस्पतालको तेश्रो तलाको ढलान कार्य सम्पन्न भएको गाउँपालिकाका सव–इन्जिनियर शेरबहादुर बिष्टले बताए । उनले भने, ‘हाम्रो पालिकामा निर्माण भइरहेको आधारभूत अस्पतालको ७० प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । भौतिक निर्माणको काम तीव्र गतिमा भइरहेको छ ।’
निर्माण कम्पनीले २०७८ साल माघमा अस्पताल भवन निर्माणका लागि १२ करोड ९१ लाख रुपैयाँमा गाउँपालिकासंग ठेक्का सम्झौता गरेको थियो । उक्त सम्झौता अनुसार २०८२को असारभित्र सबै काम सम्पन्न गरिसक्नुपर्ने भएपनि केही समय थप लाग्ने गाउँपालिकाका इन्जिनियर कपिलदेव भट्टले बताए ।
आधारभूत अस्पताल निर्माणको काम सन्तोषजनक रुपमा अघि बढीरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीले बताए । गाउँपालिकाभित्र निर्माण भइरहेको अस्पतालको काम तीव्र रुपमा भइरहेको उनले बताए ।
१० शैय्याको आधारभूत अस्पताल भवन निर्माणपछि अस्पताल सञ्चालनमा ल्याइने बताइएको छ । आधारभूत अस्पातल निर्माण सम्पन्न भएमा यहाँका नागरिकको स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि हुने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।