
बैतडी–बैतडीको दशरथचन्द नगरपालिकाले बालविवाह र लागूऔषध दुव्र्यसनी अन्त्यका लागि विद्यार्थीहरुसंग छलफल गरेको छ ।
नगरपालिकाभित्रका तीनओटा माध्यमिक विद्यालयका विद्यार्थीहरुसंग सचेतनामूलक अन्तरक्रिया सम्पन्न गरेको दशरथचन्द नगरपालिकाकी महिला तथा बालबालिका शाखा प्रमुख लीला कुँवरले बताइन् ।
बालविवाह र लागूऔषधको दुव्र्यसनमा किशोरावस्थामा मानिसहरु बढी फस्ने भएकाले उनीहरुका लागि सचेतनामूलक कक्षा सञ्चालन गरिएको कुँवरले बताइन् । लागूऔषधको सेवनले मानिसको जीवनमा पार्ने प्रभावका बिषयमा कक्षामा जानकारी दिइएको उनले बताइन् । यस्तै बालविवाहले मानिसको समग्र जीवनमा पार्ने प्रभाव र स्वास्थ्यमा पार्ने असरको बारेमा छलफल गरिएको उनले बताइन् ।
बालविवाहले पार्ने असरका बिषयमा स्वयं बालबालिकाहरुलाई जानकारी दिएमा बालविवाह न्यूनीकरण गर्न सकिने भएकाले विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गरेको कुँवरले बताइन् ।
यस्तै लागूऔषधको दुव्र्यसनमा पनि किशोरावस्थाका मानिसहरु बढी संलग्न रहेका पाइएकाले उनीहरुलाई त्यस्ता दुव्र्यसनबाट जोगाउन विद्यालय केन्द्रित सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको दशरथचन्द नगरपालिकाका सामाजिक विकास शाखा प्रमुख विनोदबहादुर चन्दले बताए ।
विद्यालय उमेरका किशोरकिशोरीहरुलाई औपचारिक कक्षाका साथै विभिन्न समयमा सञ्चालन हुने सचेतनामूलक कक्षाले थप फाइदा हुने गरेको मणिलेक मावि गुरुखोलाका प्रधानाध्यापक केशवदत्त भट्टले बताए । किशोरकिशोरीहरुलाई विभिन्न कानुनका बिषयमा यस्ता खालका कार्यक्रमले जानकारी मिल्ने उनले बताए ।
विद्यालयमा सञ्चालन गरिएको सचेतनामूलक कार्यक्रमले बालबालिकाहरुलाई धेरै फाइदा पुगेको दशरथचन्द मावि सुन्दरखालीका प्रधानाध्यापक नरेन्द्र चन्दले बताए । बालबालिकाहरुका सवालमा उनीहरुसंग छलफल भएकाले यसले बालबालिकाहरुलाई सही बाटोमा डोर्याउन मद्दत पुग्ने उनले बताए ।