
बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाले प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृति दिने भएको छ । आर्थिक रुपले विपन्न छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिने शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए ।
गत बर्षदेखि डाक्टर, इन्जिनियर तथा प्राविधिक बिषयमा विपन्न छात्रछात्राहरुको पहुँच अभिवृद्धिका लागि छात्रवृति दिने गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए ।
यो बर्षपनि छात्रवृति प्रदान गर्नका लागि गाउँपालिकाले सूचना आह्वान गरेको छ । प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययन गरिरहेका र शिवनाथ गाउँपालिकाभित्र घर भएका विपन्न छात्रछात्राहरुका लागि आवेदन आह्वान गरिएको प्रमुख प्रशासकीय अधिकृत महताले बताए । \
शिवनाथ गाउँपालिकाले शैक्षिक छात्रवृति व्यवस्थापन कार्यविधि २०८१ निर्माण गरेको र सोही अनुसार छात्रछात्राहरुलाई छात्रवृति प्रदान गरिने गाउँपालिका अध्यक्ष साउँदले बताए ।
प्राविधिक धारतर्फ उच्च शिक्षा अध्ययनका गरिरहेका छात्रछात्राहरुले आवदेनसंगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कक्षा १२ उत्तीर्ण गरेको प्रमाणपत्रको प्रतिलिपि र उच्च शिक्षा अध्ययन गर्दै गरेको संस्थाको प्रमाणपत्रको प्रतिलिपि पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।
छात्रवृतिका लागि गाउँपालिकाले यो बर्ष ४ लाख रुपैयाँ विनियोजन गरेको छ । गत बर्ष छात्रवृतिका लागि ५ लाख रुपैयाँ विनियोजन गरिएको थियो ।
छात्रवृतिका लागि आवेदन परेका विद्यार्थीहरुमध्ये छनौट समितिले छनौट गरेका विद्यार्थीहरुलाई छात्रवृति प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाभित्रका विपन्न छात्रछात्राहरुको प्राविधिक शिक्षामा पहुँच पुर्याउने उद्देश्यले गाउँपालिकाले हरेक बर्ष छात्रवृति दिँदै आएको अध्यक्ष साउँदले बताए ।