Sagun Khabar
बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु 

बैतडी–बैतडीमा भीरबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । 

जिल्लाको दशरथचन्द नगरपालिका–६ टाक बस्ने ७० बर्षीया धनपती नाथको भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

घर नजिकैको जंगलमा घाँस काट्न गएकी नाथ शनिबार  दिउँसो १२ बजे भीरबाट लडेर २ सय मिटर तल खसेकी थिइन् । लडेर गम्भीर घाइते भएकी उनको जिल्ला अस्पताल बैतडीमा उपचारका क्रममा दिउँसो ३ बजेर १० मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

मृतक नाथको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १८:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update