Sagun Khabar
‘अशिक्षा र गरिबीले बालविवाह’ 

बैतडी–अशिक्षा र गरिबीका कारण बालविवाह हुने गरेको बैतडीमा आयोजित एक कार्यक्रमका सहभागीहरुले बताएका छन् । 

परोपकार ग्रामीण विकास संघले पाटनमा आयोजना गरेको अन्तरपुस्ता सम्वादका सहभागीहरुले उक्त कुरा बताएका हुन् । २० बर्ष मुनिको विवाह गैरकानुनी भएपनि कुनै न कुनै रुपमा बालविवाह भइरहेको प्रतिष्ठित धामी समूहका अध्यक्ष हरिप्रसाद जोशीले बताए । 

गरिबी र अशिक्षाका कारण बालविवाह अन्त्य हुन नसकेको बताउँदै उनले राज्यका निकायहरुले कानुनको प्रभावकारी कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए । बालविवाहका कारण अघिल्लो पुस्ताले समस्या झेलीरहेको बताउँदै उनले अबको पुस्ताले सोच्नुपर्ने बेला आएको बताए । उनले भने,‘बालविवाहकै कारण मानव जीवनमा विभिन्न खालका समस्या आउने गरेका छन् । त्यसैले यसको अन्त्यका लागि सबै सरोकारवाला लाग्नुपर्ने हुन्छ ।’

अन्तरपुस्ता सम्वाद कार्यक्रममा बोल्दै कृष्ण मावि पाटनका शिक्षक कर्ण बिष्टले बालविवाहले पार्ने असरका बारेमा किशोरकिशोरी र अभिभावकहरुलाई एकै ठाउँमा राखेर सम्वाद गर्नु निकै उपलब्धिमूलक भएको बताए । यस्ता खालका सम्वादले पहिलाको पुस्ताले भोगेका समस्याबाट नयाँ पुस्ताले पाठ सिक्ने बताए । 

अन्तरपुस्ता सम्वादमा सहभागी किशोरकिशोरीहरुले बालविवाहका कारण पर्ने असरका बिषयमा व्यवहारिक ज्ञान भएको बताएका छन् । पाका पुस्ताका कुरा सुनेपछि बालविवाह मानव विकासको बाधक रहेको कुरा प्रष्ट भएको सहजकर्ता पार्वती खत्रीले बताइन् । उनले भनिन्,‘अहिले हामीले रुपान्तरण कक्षामार्फत बालविवाह अन्त्यका लागि काम गरिरहेका छौं । अभिभावकहरुसंगको छलफलले हाम्रो अभियानमा महत्वपूर्ण सहयोग पुगेको छ ।’

अन्तरपुस्ता सम्वादमा सहभागी पाटन –६ की लक्ष्मी खत्रीले किशोरकिशोरीहरु आत्मनिर्भर भएपछि मात्रै विवाहबन्धनमा बाँधिनुपर्नेमा जोड दिइन् । बालविवाहले किशोरकिशोरीहरुको शिक्षा ग्रहण गर्ने अधिकार कुण्ठित हुने र यसले समग्र जीवनमा समस्या ल्याउने उनले बताइन् । 

दुई पुस्ताका सिकाइ, अनुभव र समस्या आदान–प्रदान गरेर बालविवाह न्यूनीकरणका लागि अन्तरपुस्ता सम्वाद सञ्चालन गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले बताइन् । बालविवाह गर्दा आमा–बुवाहरुले भोग्नुपरेको समस्याका बिषयमा किशोरकिशोरीहरु जानकार भएमा बालविवाह कम गर्न सकिने उनले बताइन् । 

परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका–२ र ६ मा किशोरकिशोरीहरुको क्षमता अभिवृद्धि र बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिएको परोपकार ग्रामीण विकास संघका लेखा अधिकृत हेमन्तप्रसाद अवस्थीले बताए । सोही कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको अन्तरपुस्ता सम्वाद कार्यक्रमले किशोरकिशोरी र अभिभावकहरुले एकै ठाउँमा बसेर छलफल गर्न सहयोग पुगेको बताए । 
 

प्रकाशित मिति: शनिबार, जेठ १७, २०८२  १६:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update