
बैतडी–बैतडीको पञ्चेश्वरमा सुकुम्बासीहरुका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको छ । गाउँपालिका क्षेत्रभित्र रहेको बाँझो जमीन,सार्वजनिक जमीन, बाटोघाटो,पानी पँधेरो लगायतका कुराहरु छुट्याउन जग्गा एकीन गर्ने कार्य शुरु गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए ।
भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीहरुको व्यवस्थापनका लागि जग्गा एकीन गर्ने कार्य शुरु गरिएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । जग्गा एकीन गर्नका लागि प्राविधिकहरुको टोली खटिएर काम गरिरहेको उनले बताए ।
पञ्चेश्वर गाउँपालिकामा भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासीलाई यही असार भित्रै पूर्जा वितरण गर्ने लक्ष्य रहेको पाण्डेयले बताए ।
पञ्चेश्वर गाउँपालिकाभित्र भूमीहिन सुकुम्बासी, भूमीहिन दलित र अव्यवस्थित बसोबासी ४ सय ३८ परिवार रहेको पाण्डेयले बताए ।
जग्गा एकीन गर्नका लागि फिल्डमा प्राविधिक टोली खटाउनुभन्दा पहिला गाउँपालिकामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । उक्त अन्तरक्रियामा गाउँपालिका अध्यक्ष चन्दका साथै भूमी समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेय, गाउँपालिका उपाध्यक्ष बिना भट्ट, आयोगका विज्ञ सदस्य जगदीश नायक लगायत अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।
उक्त अन्तरक्रियामा जग्गा एकीन गर्नका लागि खटिएको प्राविधिक टोलीले जग्गा एकीन गर्ने विधिका बिषयमा जानकारी गराएका थिए ।
पञ्चेश्वरमा जग्गा एकीन गर्नका लागि नापी कार्यालयका कृष्ण भण्डारीको नेतृत्वमा पाँच जना प्राविधिकहरुको टोली खटिएको जनाइएको छ ।