
बैतडी–बैतडीमा बालविवाह अन्त्यका लागि अन्तरपुस्ता सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ । पाटन नगरपालिका–२ स्थित सिद्धनाथ मावि सिलङ्गामा शुक्रबार सम्वाद सञ्चालन गरिएको हो ।
परोपकार ग्रामीण विकास संघले बालविवाह अन्त्यका लागि सबै सरोकारवालाहरुलाई जागरुक गराउने उद्देश्यले अन्तरपुस्ता सम्वादको आयोजना गरेको हो ।
अभिभावक र किशोरकिशोरीहरुलाई एकै ठाउँमा राखेर उनीहरुबीच बालविवाह न्यूनीकरणका बिषयमा सम्वाद सञ्चालन गरिएको परोपकार ग्रामीण विकास संघकी कार्यक्रम संयोजक कुन्ती भट्टले जानकारी दिइन् ।
अघिल्लो पुस्ताले सानो उमेरमा विवाह गर्दा भोग्नु परेका समस्या र अहिलेको पुस्ताले बालविवाह न्यूनीकरणका बिषयमा गरिरहेको प्रयासका बारेमा सम्वादमा छलफल गरिएको छ ।
अन्तरपुस्ता सम्वादमा सहभागी खेमराज ऐरले आफूले १० बर्षको उमेरमा विवाह गर्दा धेरै समस्या झेल्नुपरेको सुनाउँदै अहिले आफू बालविवाह न्यूनीकरणको अभियानमा सरीक भएको बताए । कम उमेरमा विवाह गर्दा विभिन्न समस्या झेल्नुपरेको बताउँदै उनले अहिलेको पुस्ताले बालविवाह गर्न नहुने कुरामा जोड दिए ।
सानो उमेरमा विवाह गर्दा महिलाहरुले विभिन्न खालका समस्या झेल्नुपरीरहेको बताउँदै स्थानीय निर्मला ऐरले बालविवाह अन्त्यका लागि अभिभावकहरुले भूमिका खेल्नुपर्नेमा जोड दिइन् । सानो उमेरको विवाहले आफ्नो जीवनमा पारेको असरबाट पाठ सिक्दै अहिले छोराछोरीहरुलाई आफ्नो खुट्टामा उभिएपछि मात्रै विवाह गर्नुपर्छ भन्ने कुरा सिकाउने गरेको उनले बताइन् । उनले भनिन्, ‘हामीले त्यतिबेला सानै उमेरमा विवाह गर्दा धेरै झण्झट खेप्नुपरेको छ । त्यसैले अहिलेको पुस्तालाई परिपक्व भएपछिमात्रै विवाह गर्ने सल्लाह दिने गरेकी छु ।’
बालविवाह गर्दा किशोरकिशोरीहरुको शारीरिक,मानसिक र सामाजिक विकासमा बाधा पुग्ने भएकाले बालविवाह गर्न नहुने शिक्षक मोहनदेव भट्टले बताए । कम उमेरमै विवाह गर्दा किशोरकिशोरीहरुले शिक्षा ग्रहण गर्न नपाउने र यसले बेरोजगारी बढाउने बताए । उमेर पुगेपछि विवाह गर्दा सबैलाई फाइदा हुने उनले बताए ।
अन्तरपुस्ता सम्वादमा सहभागी किशोरकिशोरीहरुले अभिभावकहरुको कुरा सुनेर बालविवाहले पार्ने असरका बारेमा व्यवहारिक ज्ञान भएको बताएका छन् । सानो उमेरका विवाह गर्दा समस्या भोगेकाहरुको अनुभव सुन्दा उमेर पुगेपछिमात्रै विवाह गर्नुपर्छ भन्ने कुराको ज्ञान भएको सहजकर्ता पवित्रा ऐरले बताइन् । बालविवाह न्यूनीकरणका लागि आफूहरुले रुपान्तरण कक्षा सञ्चालन गरिरहेको र अभिभावकहरुसंगको सम्वादले बालविवाह न्यूनीकरण अभियानमा सहयोग पुगेको उनले बताइन् ।
बालविवाहका असरका बिषयमा दुई पुस्ताबीचको सम्वादले बालविवाह न्यूनीकरणका लागि महत्वपूर्ण सहयोग पुर्याउने शिक्षिक चन्द्रिका धामीले बताइन् । सानो उमेरमा विवाह गर्दा विभिन्न खालका समस्या सिर्जना हुने भएकाले बीस बर्षपछि मात्रै विवाह गर्नुपर्नेमा उनले जोड दिइन् ।
अभिभावक र किशोरकिशोरीहरुबीचको अन्तरपुस्ता सम्वादले बालविवाह न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको परोपकार ग्रामीण विकास संघका लेखा संयोजक हेमन्त अवस्थीले बताए ।
परोपकार ग्रामीण विकास संघले गल्स फस्ट फण्डको सहयोगमा पाटन नगरपालिका वडा नं २ र ६ मा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।