Sagun Khabar
महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा तल्लोसोराड क्षेत्रका बासिन्दा मारमा 
फाइल फोटो

बैतडी –भारतसंग सीमा जोडिएका बैतडीको तल्लोसोराड क्षेत्रका बासिन्दाहरुलाई महाकाली नदीमाथि झोलुङ्गे पुल नहुँदा सास्ती भएको छ । महाकाली नदीमा झोलुङ्गे पुल नहुँदा डुंगाबाट जोखिम मोलेर वारपार गर्नुपर्ने बाध्यता रही आएको छ । 

महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणका लागि भारतले सहमति नदिँदासम्म सम्भव नभएको पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरखबहादुर चन्दले बताए । महाकाली नदी सीमा नदी भएकाले भारतको सहमति आवश्यक हुने तर भारतले सहमति नदिने गरेको उनले बताए । 

महाकाली नदीमा पुल नहुँदा दुवै देशका सीमा क्षेत्रका नागरिकलाई सास्ती भएको अध्यक्ष चन्दले बताए । महाकाली नदीमा झोलुङ्गे पुल निर्माणको सहमति जुटाउन आफूले ११ पटक परराष्ट्र मन्त्रालयमा धाएको भएपनि काम अघि नबढेको अध्यक्ष चन्दले बताए । 

तत्कालिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई स्थलगत अवलोकन समेत गराएको अध्यक्ष चन्दले बताए । पुल निर्माणका लागि भारतसंग सहमति मागिदिन आफूले पटक–पटक संघीय सरकारलाई आग्रह गरेको भएपनि केही सीप नचलेको उनले बताए । उनले भने, ‘मैले महाकाली नदीमाथि झोलुङ्गे पुल निर्माणको बिषयमा ११ पटक परराष्ट्र मन्त्रालयमा कुरा राखेको छु । तत्कालिन परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीलाई १६ लाखमा हेलिकोप्टर बुक गरेर स्थलगत अवलोकन गराएको छु । तर कहिँबाट केही सीप चलेन् । भारतबाट सहमतिमात्रै दिए गाउँपालिकाको बजेटले पुल बनाउने योजना छ ।’

भारतसंग सीमा जोडिएको क्षेत्रमा सामाजिक, सांस्कृतिक र धार्मिक सम्बन्ध रहेकाले दुवै देशका नागरिक महाकाली नदीमा डुंगाबाटै ओहोरदोहर गर्न बाध्य छन् । डुङ्गाको जोखिमपूर्ण यात्राका क्रममा कतिपयले ज्यान समेत गुमाएका छन् । 

भारतसंग सीमा जोडिएको तल्लोसोराड क्षेत्रका नागरिकलाई आवतजावतमा सहजताका लागि महाकाली नदीमाथि झोलुंगे पुल आवश्यक छ । तर पुल नहुँदा जोखिम मोलेर डुङ्गामै वारपार गनुपर्ने बाध्यता रही आएको पञ्चेश्वरका स्थानीय जनक साउँदले बताए । 

बैतडीको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका नागरिक सीमावर्ती भारतीय बजारमा दिनहुँजसो जाने गरेका छन् । तर पुल नहुँदा जोखिम मोल्नुपर्ने बाध्यता रही आएको छ । 

भारतीय क्षेत्रका नागरिक पनि पूजापाठ र अन्य कार्यका लागि नेपालतर्फ आउने गरेका छन् । पुल नहुँदा दुवै क्षेत्रका नागरिकलाई सास्ती हुने गरेको छ । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update