Sagun Khabar
बैतडीमा दुई वृद्धामाथि खुकुरी प्रहार प्रकरण : अभियुक्त पुर्पक्षका लागि कारागार चलान

 बैतडी–बैतडीमा दुई वृद्धामाथि खुकुरी प्रहार गर्ने धनवीर धानुकलाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । 

ज्यान मार्ने उद्योगमा अभियुक्त धानुकमाथि प्रहरीले अनुसन्धान सकेर अदालतमा पेश गरेको थियो । पुर्चौंडी नगरपालिका –६ रपना घर भएका २० बर्षीय धानुकलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि आइतबार कारगार चलान गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

यही जेठ ३ गते अभियुक्त धानुकले खुकुरी प्रहार गरी सोही ठाउँकी ७० बर्षीया बिखमती धानुक र ६८ बर्षीया दुरोपती धानुकलाई घाइते बनाएका थिए । घाइते दुवै जनाको अहिले पनि धनगढीमै उपचार भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 

पुरानो रिसीइवीका कारण धानुकले दुवै वृद्धामाथि खुकुरी प्रहार गरेका थिए । घरायसी विवाद र झगडाका कारण उनले खुकुरी प्रहार गरेको बताइएको छ । 

खुकुरी प्रहार गर्ने धानुकमाथि ज्यान मार्ने उद्योगमा आफन्तले जाहेरी दिएपछि सोही मुद्दामा प्रहरीले अनुसन्धान गरेको थियो । 
 

प्रकाशित मिति: सोमबार, जेठ १२, २०८२  ११:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update