
बैतडी–बैतडीबाट नेपाली कांग्रेसको केन्द्रीय कार्यालय र सभापति शेरबहादुर देउवालाई ३३ बुँदे मागपत्र पठाइएको छ ।
नेपाल विद्यार्थी संघ बैतडीका कार्यवाहक अध्यक्ष समेत रहेका अमरबहादुर टेर संयोजक रहेको अभियानले मागपत्र पठाएको हो ।
नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दमार्फत आज मागपत्र पठाइएको नेविसंघका कार्यवाहक अध्यक्ष टेरले बताए । यो अभियानमा नेपाली कांग्रेसका नेता –कार्यकर्ताहरुको जोडिएका र अझै जोडिने क्रम जारी रहेको टेरले बताए ।
माग पत्रमा सनातन हिन्दू राज्य स्थापना, सनातनी हिन्दू संघ स्थापना, प्र्रदेश संरचना खारेज लगायतका ३३ ओटा बुँदा समेटिएका छन् ।
देशमा चरम बेरोजगारी, बढ्दो भ्रष्टाचारले समस्या निम्त्याएको बताउँदै टेरले ३३ बुँदे माग पूरा भएमा धेरै कुराको समाधान हुने जिकिर गरे ।
उक्त मागपत्रमा सुधारिएको लोकतन्त्र स्थापना, आरक्षण र भत्ता खारेज, सुन्दर गाउँ र गौ रक्षा, युवा नेतृत्व, स्वदेशी लगानी र स्वदेशी उत्पादन, पर्यटन व्यवसायलाई बढावा दिनुपर्ने लगायतका मागहरु राखिएका छन् ।
पार्टी र लोकतन्त्रलाई बलियो बनाउन आफूले ३३ बुँदे मागलाई अभियानको रुपमा सञ्चालन गरेको र यो अभियानले कांग्रेसलाई बलियो बनाउने नेविसंघ कार्यवाहक अध्यक्ष टेरले बताए ।