Sagun Khabar
द्वन्द पीडितका समस्या समाधान नभएको गुनासो 

बैतडी –देशमा शान्ति सम्झौता भएको दुई दशक बितिसक्दा समेत आफूहरुका समस्या समाधान नभएको द्वन्द पीडितहरुले गुनासो गरेका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले बैतडीमा शनिबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सहभागी द्वन्द पीडितहरुले सरकारले समस्या समाधानमा कुनै ध्यान नदिएको गुनासो गरेका हुन् । 

२०६३ सालमा शान्ति सम्झौता हुँदा द्वन्द पीडितका समस्या समाधान गर्ने आश्वासन दिएको भएपनि सरकार र विद्रोही दुवै पक्षले आफूहरुका समस्या समाधानमा ध्यान नदिएको द्वन्द पीडित नन्दराम ओडले बताए । अहिले पनि समाजमा जातीय विभेद कायमै रहेको उनले बताए । 

पूर्व लडाकु भगवती सार्की (सुशीला)ले आफूहरुलाई जिविकोपार्जनमै समस्या भएको बताइन् । सेना समायोजनका बखत अयोग्य लडाकु भनेर बहिर्गमनमा परेको सुनाउँदै उनले आफूहरुका समस्या समाधानमा राज्यले कुनै ध्यान नदिएको बताइन् । उनले भनिन्,‘तत्कालिन समयमा बन्दुक समातेर व्यवस्था परिवर्तनका लागि लडेँ । तर अहिले आफ्नै जीवन धान्न गाह्रो छ । न पार्टीले हेर्यो, न राज्यले हेर्यो ।’

तत्कालिन समयमा माओवादी सशस्त्र विद्रोहमा लागेकै कारण आफ्नी दीदी गुमाएका पञ्चेश्वरका धर्म ओडले पीडितहरुलाई कसैले नहेरेको गुनासो गरे । तत्कालिन विद्रोही माओवादी पटक–पटक सत्तामा पुगेपनि आफूहरुको समस्या समाधानमा कुनै ध्यान नदिएको उनले बताए । उनले भने, ‘म शहीद परिवारको मान्छे हुँ । स्नातक तह सम्मको शिक्षा हाँसिल गरेको छ । रोजगारी केही नपाउँदा अहिले काठको काम गरिरहेको छु ।’

द्वन्द पीडितहरुको तथ्यांक समेत फरक –फरक रहेकाले यकिन तथ्यांक समेत संकलन गर्न नसक्नु दुखद पक्ष रहेको अधिकारकर्मी सरस्वती नेपालीले बताइन् । 

इन्सेक सुदूरपश्चिमका संयोजक खडकराज जोशीले द्वन्द पीडितहरुको न्यायका लागि नागरिक समाज बलियो हुनुपर्ने बताए । सरकारले भर्खरै सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेको सम्बन्धमा जोशीले संक्रमणकालिन न्यायका बिषयमा राज्यले धेरै ढिलो काम गरिरहेको बताए । 

जिल्ला प्रशासन कार्यालयको तथ्यांक अनुसार बैतडीमा द्वन्दको समयमा १ सय ६४ जनाको मृत्यु भएको थियो भने २६ जना बेपत्ता रहेका छन् । यस्तै ६२ जना अंगभंग भएका थिए भने २ सय ६५ परिवार विस्थापित भएका थिए । 

कार्यक्रममा द्वन्द पीडित परिवारका प्रतिनिधि, अधिकारकर्मी, पत्रकार, इन्सेक सुदूरपश्चिम प्रदेशको टोली, नागरिक समाजका प्रतिनिधि लागयतको सहभागिता रहेको थियो । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  १७:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update