Sagun Khabar
पञ्चेश्वरमा निशुल्क आँखा शल्यक्रिया शिविर : १ सय ३३ जनाको आँखाको शल्यक्रिया 

बैतडी–बैतडीको पञ्चेश्वर गाउँपालिकामा सञ्चालन गरिएको निशुल्क आँखा शल्यक्रिया शिविरमा १ सय ३३ जनाको आँखाको शल्यक्रिया गरिएको छ । 

बिहीबार र शुक्रबार कुलाउ स्वास्थ्यचौकीमा सञ्चालन भएको शिविरमा  मोतीबिन्दु र आँखामा मासु पलाएहरुको शल्यक्रिया गरिएको गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत नारायणराम सार्कीले बताए । 

शिविरमा ६ सय ६२ जनाको आँखाको चेकजाँच गरेर औषधी वितरण गरिएको छ भने २ सय ६५ जनालाई निशुल्क चश्मा वितरण गरिएको छ । 

पञ्चेश्वर गाउँपालिकाको आयोजना, च्यारिटी हेल्थ फाउण्डेसन नेपालको आर्थिक सहयोग, धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालि टीकापुरको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए । 

यसअघि यही जेठ ६ गते पञ्चेश्वर गाउँपालिका वडा नं ५को गणमेश्वर आधारभूत विद्यालयमा मोतीबिन्दु छनौट शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरबाट आँखामा मोतीबिन्दुको समस्या भएका ३१ जना फेला परेका थिए । उनीहरुको पनि कुलाउमै शल्यक्रिया गरिएको सार्कीले बताए । 

स्थानीय नागरिकहरुलाई आफ्नै ठाउँमा आँखाको सेवा दिने उद्देश्यले विभिन्न निकायहरुसंगको साझेदारीमा शिविर सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष चन्दले बताए । शिविरबाट स्थानीय नागरिकहरुलाई धेरै फाइदा पुगेको उनले बताए । 

शिविरमा आँखाको समस्या भएको अधिकांश जेष्ठ नागरिकहरुले सेवा लिएका छन् । स्थानीयस्तरमै शिविर सञ्चालन हुँदा आर्थिक भार समेत नपरेको गाउँपालिका उपाध्यक्ष बिना भट्टले बताइन् । 

शिविरमा आँखाको शल्यक्रिया भएपछि बुढेसकालमा आँखाको ज्योति फर्किएका नागरिक निकै खुसी भएका छन् । गाउँघरमै सञ्चालन भएको शिविरमा आँखा खोल्न पाउँदा निकै खुसी लागेको स्थानीय ७० बर्षीया नन्दा भट्टले बताइन् । उनले भनिन,‘बुढेसकालमा आँखा नदेख्ने भएकी थिए । गाउँमै सञ्चालन भएको शिविरमा शल्यक्रिया गरेर आँखा देख्ने भएकी छु । निकै खुसी लागेको छ ।’

आफ्नै ठाउँमा शिविर सञ्चालन हुँदा निकै खुसी लागेको अर्का स्थानीय लछीराम सार्कीले बताए । आर्थिक अभावमा आँखाको उपचार गराउन नपाएको र कुलाउमै निशुल्क शिविरबाट आँखा खोल्न पाएको उनले बताए । 

शिविरमा पञ्चेश्वरका मात्रै नभएर शिवनाथ र मेलौलीका पनि केही नागरिकले सेवा लिएका गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत सार्कीले बताए । 

पञ्चेश्वरमा सञ्चालन भएको शिविरमा डाक्टर दिपक खड्का नेतृत्वको प्राविधिक टोलीले सेवा दिएको थियो । 

च्यारिटी हेल्थ फाउण्डेसन नेपालले सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय सरकार र आँखा अस्पतालहरुसंग मिलेर निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गर्दै आएको फाउण्डेसनकी कोषाध्यक्ष राधा चन्दले बताइन् । 

दुर्गम क्षेत्रमा शिविर सञ्चालन गरेर स्थानीयहरुलाई सेवा दिन पाउँदा निकै खुसी महसुस हुने गरेको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । यो बर्ष बैतडीको पुर्चौंडी नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकामा निशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको चन्दले बताए ।

यसैबीच शिविर सञ्चालनमा सहयोग गर्ने च्यारिटी हेल्थ फाउण्डेसन नेपाल,धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पताल प्रालिको टीमलाई शनिबार एक कार्यक्रमको आयोजना गरेर बिदाइ गरिएको छ । 

गाउँपालिकासंगको समन्वयमा शिविर सञ्चालन गरेर स्थानीय नागरिकलाई आँखा स्वास्थ्य सेवा दिएको भन्दै गाउँपालिका अध्यक्ष चन्दले सहयोगी सबैलाई धन्यवाद समेत दिएका छन् । 
 

प्रकाशित मिति: शनिबार, जेठ १०, २०८२  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update