Sagun Khabar
बैतडीको सुर्नयामा ‘जनतासंग अध्यक्ष’ कार्यक्रम सञ्चालन 

बैतडी–बैतडीको सुर्नया गाउँपालिकामा जनतासंग अध्यक्ष कार्यक्रम सञ्चालन गरिएको छ । सुर्नया गाउँपालिकाको आयोजना र रेडियो निङ्गलाशैनी ९४ मेगाहर्जको सहजीकरणमा कार्यक्रम सञ्चालन गरिएको हो । 

नागरिकका प्रश्न, अपेक्षा र सुझाव सुन्नका लागि उक्त कार्यक्रम सञ्चालनमा ल्याइएको सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले बताए । चालु आर्थिक बर्षमा सञ्चालन भएका कार्यक्रम,गाउँपालिकाबाट सम्पादन भएका कामहरु र आगामी दिनमा सञ्चालन गर्न सकिने कामहरुको बारेमा रेडियो कार्यक्रममार्फत जानकारी दिने उद्देश्य रहेको छ । 

बिहीबार सुर्नया गाउँपालिका वडा नं ६ मा कार्यक्रम सञ्चालन गरिएकोमा शुक्रबार गाउँपालिका भवनमा कार्यक्रम सञ्चालन गरिएको थियो । 

जनतासंग अध्यक्ष कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष कुँवरले गाउँपालिकाले नागरिकको चाहना अनुसार काम गरिरहेको बताए । नागरिक अपेक्षा धेरै भएकाले सबै अपेक्षा पूरा गर्न समय लाग्ने उनको भनाइ छ ।

कार्यक्रममा सहभागी हुँदै शंकर संस्कृत मावि मूलखटालीका प्रधानाध्यापक रामबहादुर बिष्टले गाउँपालिकाले शिक्षा क्षेत्र सुधारका लागि तत्काल पहल चाल्नुपर्नेमा जोड दिए । विद्यालयमा विद्यार्थी संख्या घट्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले बसाइसराइ रोक्नेतर्फ ध्यान दिनुपर्ने बताए । 

यस्तै सुर्नया गाउँपालिका वडा नं ६ का स्थानीय मदनसिंह कुँवरले वडा नं ६ को वडा भवन निर्माणका बिषयमा जिज्ञासा राखेका थिए । उक्त प्रश्नको जवाफ दिँदै वडा अध्यक्ष मदनराज अवस्थीले वडा भवनका लागि प्राप्त भएका जमीनहरुको अध्ययन प्रतिवेदन प्राप्त भएको र प्रतिवेदनहरु अध्ययनपछि टुंगो लगाइने बताए । 

यस्तै शिक्षा क्षेत्रलाई सुधार गर्नका लागि गाउँपालिकाले विद्यालय समायोजनको नीति लिएको र तह समायोजन भएका विद्यालयहरुलाई अनुदान दिइने अध्यक्ष कुँवरले बताए । 

खानेपानी,सिँचाइ, सडक लगायतका भौतिक पूर्वाधार निर्माणका लागि गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारसंगको साझेदारीमा पनि काम गरिरहेको उनले बताए । 

यस्तै लक्षित वर्गहरुलाई विकासको पहुँच पुर्याउनका लागि विभिन्न सीपमूलक कार्यक्रम सञ्चालनमा रहेका अध्यक्ष कुँवरले बताए । 

सुर्नयामा रेकर्ड गरिएको उक्त कार्यक्रम रेडियो निङ्गलाशैनीबाट प्रशारण गरिनेछ ।  
 

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १९:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update