Sagun Khabar
यू–१६ बैतडी छनौटको सेमिफाइनल समीकरण पूरा 

बैतडी –बैतडीमा जारी एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को जिल्लास्तरीय छनौट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ।

 लिग चरणका खेलहरू सकिएसंगै सेमिफाइनल समीकरण पूरा भएको हो । बैतडी युनाइटेड क्रिकेट एकेडेमी, दशरथचन्द एकेडेमी, पाटन भ्याली क्रिकेट क्लब र निङ्गलाशैनी क्रिकेट क्लब(एनसीसी) सेमिफाइनलमा पुगेका हुन् । 
युनाइटेड समूह ए को विजेता र एकेडेमी उपविजेताका रूपमा सेमिफाइनलमा सुरक्षित भएका छन् । यस्तै भ्याली समूह बी को विजेता र एनसीसी उपविजेता हुँदै अन्तिम चारमा प्रवेश गरेका छन् । 

यसैबीच सेमिफाइनलका खेलहरू भोलि हुने स्कोरर दिपेन्द्रबहादुर बोहराले जानकारी दिए । पहिलो सेमिफाइनलमा भ्याली र एकेडेमी तथा दोस्रोमा युनाइटेड र एनसीसी प्रतिस्पर्धा गर्नेछन् ।

उपाधि भिडन्त जेठ २ गते हुने बैतडी जिल्ला क्रिकेट संघका सचिव सिद्धराज बोकटीले जानकारी दिए । 

बैतडी जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख २६ गतेदेखि सुरू भएको प्रतियोगितामा जिल्लाका ७ टोलीको सहभागिता थियो । 

छनौट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई जिल्लाको टोलीमा समावेश गरिने बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्दले बताए । एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट संघले एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि आगामी जेठमा राष्ट्रिय प्रतियोगिता गर्दैछ ।
 

प्रकाशित मिति: बुधबार, वैशाख ३१, २०८२  १९:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update