
बैतडी–स्थानीय सेवा ऐन जारी गर्नुपर्ने माग गर्दै सुदूरपश्चिमका स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएपछि स्थानीय तहका सेवा प्रभावित भएका छन् ।
प्रदेशका ८८ ओटै स्थानीय तहमा कार्यरत कर्मचारी आन्दोलित भएपछि स्थानीय तहका सेवा प्रभावित भएका हुन् । चालु आर्थिक बर्षमा सञ्चालनमा रहेका योजना तथा अन्य कार्यक्रमहरुको भुक्तानीको बेलामा कर्मचारी आन्दोलित भएपछि सेवाग्राही मारमा परेका छन् ।
कर्मचारीहरुले भने स्थानीय सेवा ऐन जारी नहुँदासम्म आन्दोलनमै रहने जनाएका छन् । सुदूरपश्चिम सरकारले ऐन जारी नगर्दा कर्मचारीहरुको वृतिविकासमा असर परेको बैतडीको सिगास गाउँपालिकाका शिक्षा शाखा प्रमुख रमेशप्रसाद भट्टले बताए । उनले भने, ‘स्थानीय सेवा ऐन जारी नहुँदा कर्मचारीको वृतिविकासमा असर परेको छ । सरकारले गर्नुपर्ने काम कर्मचारीहरुले सम्झाइदिनुपर्ने अवस्था आएको छ । ऐन जारी नहुँदा सम्म आन्दोलन जारी रहन्छ ।’
अन्य ६ ओटा प्रदेशले स्थानीय सेवा ऐन ल्याएर कार्यान्वयनमा ल्याइसक्दा समेत सुदूरपश्चिम सरकारले ऐन ल्याउन नसकेको बैतडीको दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमु्ख हरिशप्रकाश भट्टले बताए ।
स्थानीय तहका कर्मचारीहरुले थालेको आन्दोलनमा स्थानीय सरकारहरुले समर्थन जनाएका छन् । उनीहरुले छिटो ऐन ल्याएर कर्मचारीहरुको समस्या समाधान गर्न आग्रह गरेका छन् । कर्मचारीहरुले थालेको आन्दोलनमा ऐक्यबद्धता जाहेर गर्दै स्थानीय तहहरुले सेवा प्रभावित भएको जनाएका छन् ।