
बैतडी –नेपाली कांग्रेस जिल्ला कार्यसम्पादन समिति बैतडीको बैठक सम्पन्न भएको छ । नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दको अध्यक्षतामा पाटन नगरपालिका–८ खोड्पेमा बैठक सम्पन्न भएको नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले बताए ।
बैठकले पार्टी संगठन सुदृढीकरण र विस्तारका लागि आगामी जेठ महिनादेखि प्रशिक्षण अभियान सञ्चालन गर्ने निर्णय गरेको जिल्ला उपसभापति एवं प्रशिक्षण शाखा संयोजक बीरबहादुर बिष्टले बताए ।
जिल्लाका १० ओटै स्थानीय तह र ८४ ओटै वडामा प्रशिक्षण अभियान सञ्चालन गरिने उनले बताए । नेपाली कांग्रेसको नीति, विधि, विधान र सिद्धान्तका बिषयमा जानकारी दिने र कांग्रेसको संगठनलाई बलियो बनाउने उद्देश्यसहित प्रशिक्षण अभियान सञ्चालन गरिने उनले बताए ।
प्रशिक्षण अभियानमा जिल्ला सभापति, प्रशिक्षण शाखा संयोजक, पार्टीका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि लगायतले प्रशिक्षण दिने उपसभापति बिष्टले बताए । उनले भने,‘आजको बैठकमा हामीले पार्टीको संगठन विस्तार र सुदृढीकरणका बिषयमा केन्द्रित रहेर निर्णय गरेका छौं । प्रशिक्षण अभियानमार्फत पार्टीलाई बलियो बनाउने हाम्रो उद्देश्य रहेको छ ।’
यस्तै विधान अनुसार सदस्यता नवीकरण गर्न कांग्रेसका क्रियाशील सदस्यहरुलाई आग्रह गरिएको सचिव चन्दले बताए । पार्टीको सदस्यता शुल्क नतिरेकाहरुले यो महिनाभित्र सदस्यता शुल्क तिरेर सदस्यता नवीकरण गर्न पार्टीले निर्देशन दिएको छ । समयमा नवीकरण नगर्नेको सदस्यता नवीकरण नहुने सचिव चन्दले बताए ।
नेपाली कांग्रेस बैतडीमा अहिलेसम्म ४ हजार ८ सय जना क्रियाशील सदस्यहरुले सदस्यता नवीकरण गरिसकेका छन् । नयाँ सदस्यता वितरण गर्ने कार्य समेत भइरहेको सचिव चन्दले बताए ।