
बैतडी –बैतडीको सुर्नया गाउँपालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय सेवा ऐन चाँडो ल्याउनुपर्ने माग गर्दै शुक्रबार ज्ञापन पत्र बुझाएका छन् ।
गाउँपालिका अध्यक्ष अम्मरबहादुर कुँवर र उपाध्यक्ष मञ्जु बोहरालाई ज्ञापन पत्र बुझाएको सुर्नया गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रामसिंह महराले बताए ।
सुदूरपश्चिम प्रदेश सभामा पेश भएर पनि ऐन जारी नहुँदा कर्मचारीहरुको वृति विकासमा असर परेको भन्दै कर्मचारीहरुले चाँडो ऐन ल्याउन माग गरेका हुन् ।
सुर्नया गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोगराज जोशीको नेतृत्वमा कर्मचारीहरुले ज्ञापन पत्र बुझाएका हुन् ।
स्थानीय सेवाको गठन, सञ्चालन र शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई यथाशीघ्र जारी गर्नुपर्ने कर्मचारीहरुले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
६ ओटा प्रदेशमा ऐन आइसक्दा समेत सुदूरपश्चिममा ऐन नआउँदा समस्या भएको स्थानीय तह कर्मचारी सञ्जालले बुझाएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
कर्मचारीहरुले राखेको मागमा कर्मचारी संघ संगठनहरुले समेत सहमति जनाएका छन् । स्थानीय तहका कर्मचारीहरुको आन्दोलनमा आफूहरुको समर्थन रहेको नेपाल निजामती कर्मचारी संगठनका जिल्ला सचिव रामसिंह महराले बताए ।