Sagun Khabar
बैतडीमा २ सय ४ जनाको निशुल्क आँखाको शल्यक्रिया 

बैतडी–बैतडीमा २ सय ४ जनाको निशुल्क आँखाको शल्यक्रिया गरिएको छ । मोतीबिन्दुको समस्या भएको नागरिकको आँखाको शल्यक्रिया गरिएको हो । 

वैशाख पहिलो र दोश्रो साता पुर्चौंडी नगरपालिका र शिवनाथ गाउँपालिकामा सञ्चालन भएको शिविरमा आँखाको शल्यक्रिया गरिएको हो । 

यही वैशाख ५ देखि ७ गतेसम्म पुर्चौंडी नगरपालिकाको हाटमा सञ्चालन भएको शिविरमा ९१ जना र यही वैशाख ९ र १० गते शिवनाथ गाउँपालिकाको सुल्लेखानमा आयोजना भएको शिविरमा १ सय १३ जनाको आँखाको शल्यक्रिया गरिएको धनगढी नेत्रालयका अध्यक्ष गजेन्द्रबहादुर चन्दले बताए । 

Atrya hospital

पुर्चौंडी नगरपालिका,शिवनाथ गाउँपालिका र च्यारिटी हेल्थ फाउण्डेसनको आयोजना तथा धनगढी नेत्रालय र श्रीकृष्ण आँखा अस्पातल प्रालि टीकापुरको प्राविधिक सहयोगमा दुवै ठाउँमा निशुल्क आँखाको शल्यक्रिया शिविर सञ्चालन भएको अध्यक्ष चन्दले बताए । 

दुर्गम क्षेत्रका नागरिकको आँखा उपचार सेवामा पहुँच पुर्याउन शल्यक्रिया शिविर आयोजना गरिएको च्यारिटी हेल्थ फाउण्डेसन नेपालका कोषाध्यक्ष राधाकुमारी बमले बताइन् । 

शिविरमा बरिष्ठ नेत्र बिशेषज्ञ डाक्टर विद्याप्रसाद पन्त नेतृत्वको टीमले आँखा जाँच गर्नुका साथै शल्यक्रिया गरेको थियो । 

स्थानीयस्तरमै आयोजना भएको शिविरमा आँखाको शल्यक्रिया गरेर आँखाको ज्योति फर्किएपछि स्थानीयहरु खुसी भएका छन् । बिना झण्झट घर नजिकै आयोजना भएको शिविरमा आँखा शल्यक्रिया गर्न पाउँदा निकै खुसी लागेको पञ्चेश्वर –४ की ८० बर्षीया पशुपति ओडले बताइन् । 

शिविरमा अधिकांश जेष्ठ नागरिकले सेवा लिएका बताइएको छ । उमेर बढ्दै गएपछि मोतीबिन्दुको समस्या देखिने भएकाले शल्यक्रिया गर्ने अधिकांश जेष्ठ नागरिक रहेका डाक्टर पन्तले बताए । ग्रामीण क्षेत्रमै पुगेर जेष्ठ नागरिकहरुको आँखाको ज्योति फर्काउन पाउँदा आफूलाई निकै खुसी लागेको उनले बताए । 

स्थानीय नागरिकहरुको समस्यालाई ध्यानमा राखेर विभिन्न संघसंस्थाहरुसंगको समन्वयमा शिविरमार्फत आँखा उपचार सेवा दिइएको शिवनाथ गाउँपालिकाका अध्यक्ष कर्णसिंह साउँदले बताए । यस्ता शिविरलाई अबका दिनमा पनि निरन्तरता दिने उनले बताए । 
 

प्रकाशित मिति: आइतबार, वैशाख १४, २०८२  ०९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update