
बैतडी–बैतडीमा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’सञ्चालन गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले सतबाँझमा शुक्रबार ‘ट्याक्टर बहस’सञ्चालन गरेको हो । प्रदेश प्रहरी कार्यालयले प्रदेशका ९ ओटै जिल्लामा सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए ।
ग्रामीण क्षेत्रमा हुने सवारी दुर्घटनामा अधिकांश ट्याक्टर दुर्घटना हुने गरेकाले सवारी दुर्घटना न्यूनीकरणका लागि ‘ट्याक्टर बहस’ सञ्चालनमा ल्याइएको उनले बताए । यो बहसमा सवारी चालक, सवारी धनी, सर्वसाधारण सबैलाई सहभागी गराएर सवारी दुर्घटना न्यूनीकरणका बिषयमा जानकारी दिइएको प्रहरी निरीक्षक बडूले बताए । उनले भने, ‘हामीले सवारी दुर्घटना न्यूनीकरणका लागि यो बहस सञ्चालनमा ल्याएका हौं । ग्रामीण क्षेत्रमा धेरैजसो ट्याक्टर दुर्घटना हुने भएकाले हामीले यसलाई ट्याक्टर बहस नाम दिएका छौं ।’
ट्याक्टरलाई व्यापारिक प्रयोजन र विभिन्न वस्तुहरुको ढुवानीका लागि प्रयोग गर्नुपर्ने भएपनि यात्रुहरु समेत बोक्ने गरेको पाइएकाले बहसको नाम नै ट्याक्टर बहस राखिएको प्रहरी निरीक्षक बडूले बताए ।
बहसमा सवारी साधन सञ्चालन ऐन लगायतका बिषयमा जानकारी गराइएको उनले बताए । अधिकांश ग्रामीण क्षेत्रमा ट्याक्टर चालकहरुले लाइसेन्स बिना चलाउने गरेको पाइएकाले त्यसो नगर्न बहसमा सचेत गराइएको उनले बताए ।
यस्तै अवैध रुपमा उत्खनन गरिएका नदीजन्य पदार्थको ढुवानी समेत ट्याक्टर प्रयोग हुने गरेको पाइएकाले त्यस्ता वस्तुहरु ढुवानी नगर्न प्रहरीले बहसमार्फत सचेत गराएको छ । क्षमताभन्दा बढी लोड नबोक्न आग्रह गर्नुका साथै ढुंगा, बालुवा, गिट्टी लगायतका सामग्री ढुवानी गर्दा छोप्नुपर्ने बिषयमा समेत सचेत गराइएको प्रहरी निरीक्षक बडूले बताए ।
यसका साथै अन्य सवारी दुर्घटना न्यूनीकरणका बिषयमा स्थानीय नागरिकहरुसंग छलफल गरिएको छ । ग्रामीण इलाका सवारी दुर्घटना बढी हुने भएकाले ट्राफिक नियमको पूर्ण रुपमा पालना गर्न आग्रह गरिएको प्रहरी निरीक्षक बडूले बताए ।