Sagun Khabar
बैतडीको शिवनाथमा दश शैय्याको आधारभूत अस्पताल भवन निर्माणमा तीव्रता 

बैतडी–बैतडीको शिवनाथ गाउँपालिकाको केन्द्र सुल्लेखानमा दश शैय्याको आधारभूत अस्पताल निर्माण कार्यले तीव्रता पाएको छ । 

२०७८ सालमा मित्र जेभी केएस कन्सट्रक्सनले अस्पताल निर्माणका लागि गाउँपालिकासंग ठेक्का सम्झौता गरेको थियो । ७ करोड ३५ लाखको लागतमा निर्माण भइरहेको उक्त अस्पातल निर्माण कार्य पछिल्लो समयमा धमाधम भइरहेको गाउँपालिकाका सव इन्जिनियर दुर्गा भट्टले जानकारी दिए । 

Atrya hospital

सम्झौताको शुरुवाती चरणमा निर्माण कम्पनीले काम गर्न ढिलाई गरेको भएपनि पछिल्लो समयमा अस्पताल भवन निर्माण कार्य तीव्र गतिमा भइरहेको गाउँपालिका अध्यक्ष कर्णसिंह साउँदले बताए । 

अस्पताल भवन निर्माणको काम ३० प्रतिशत सम्पन्न भएको र पछिल्लो समयमा निर्माण कम्पनीको म्याद थपेर काम गराइरहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रसिंह महताले बताए । उनले भने,‘अब थपिएको म्यादभित्रै भवन निर्माण गरिसक्न सम्बन्धित निर्माण कम्पनीलाई भनेका छौं । अब थपिएको म्यादभित्र भवन निर्माण कार्य सम्पन्न हुने हाम्रो विश्वास छ ।’

भवन निर्माणका लागि अहिलेसम्म २ करोड १२ लाख रुपैयाँ निर्माण कम्पनीलाई भुक्तानी भइसकेको छ । अब केही दिनभित्रै थप कामको भुक्तानी हुने सव इन्जिनियर भट्टले बताए । 

गाउँपालिकाको केन्द्र सुल्लेखानमा आधारभूत अस्पताल निर्माणको काम सम्पन्न भएपछि यहाँका नागरिकलाई सहयोग पुग्ने अध्यक्ष साउँदले बताए । कुनै पनि भौतिक संरचना नभएको शिवनाथ गाउँपालिकाको सुल्लेखानमा गाउँपालिकाले आफ्नै भवन निर्माण गरेर सेवा दिइरहेको छ । 

यस्तै आधारभूत अस्पताल भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ भने गाउँपालिकाको केन्द्रमै आँखा उपचार केन्द्र पनि सञ्चालन ल्याइएको अध्यक्ष साउँदले बताए । 

प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update