
डडेल्धुरा –डडेल्धुरामा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
जिल्लाको गन्यापधुरा गाउँपालिका–१ छब्बिसेमोडमा बस र मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रवक्ता प्रहरी निरीक्षक उपेन्द्रबहादुर बमले बताए ।
काठमाण्डौंबाट बझाङ गइरहेको सुपप्र ०१००१ ख ३४१५ नम्बरको बस र विपरीत दिशातर्फ गइरहेको से ३ प ७६९४ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका हुन् ।
उक्त दुर्घटनामा मोटरसाइकल चालक बझाङको खप्तडछान्ना गाउँपालिका–२ का मंगल रावल र मोटरसाइकल पछाडि सवार सोही ठाउँका कलक सार्की घाइते भएका प्रहरी निरीक्षक बमले बताए । उनीहरु दुवै जनालाई डडेल्धुरा अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि धनगढी पठाइएको छ ।
दुर्घटनापछि बस र बस चालक बैतडीको पाटन नगरपालिका–१ का लक्ष्मणसिंह बिष्टलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।