Sagun Khabar
बैतडीका स्थानीय तहमा भूमी आयोगले सहजीकरण समिति गठन गर्दै 

बैतडी–भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीले स्थानीय तहमा सहजीकरण समिति गठन गर्ने कार्य शुरु गरेको छ । पालिकाहरुसंगको समन्वयमा स्थानीय सहजीकरण समिति गठन गर्ने कार्य शुरु भएको भूमी समस्या समाधान आयोग जिल्ला समिति बैतडीका अध्यक्ष रमेश पाण्डेयले बताए । 

बैतडीका पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकामा उक्त समिति गठन गरिसकिएको र अन्य पालिकाहरुमा पनि सहजीकरण समिति गठन गरिने अध्यक्ष पाण्डेयले बताए । 

Atrya hospital

भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीका समस्या समाधानका लागि स्थानीय सहजीकरण समिति गठन गर्ने कार्य भइरहेको उनले बताए । सम्बन्धित पालिका प्रमुख संयोजक रहने समितिमा उपप्रमुख सहसंयोजक रहने व्यवस्था छ । यस्तै पालिकाभित्र रहेका राष्ट्रिय राजनीतिक दलका प्रतिनिधि, वडा अध्यक्ष लगायत अन्य सरोकारवालाहरु समितिमा सदस्य रहने व्यवस्था रहेको अध्यक्ष पाण्डेयले बताए । 

उक्त समितिले पालिकाभित्र रहेका भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीको पहिचान गरेर प्रमाणीकरणका लागि सम्बन्धित कार्यपालिकाबाट निर्णय गराउने अध्यक्ष पाण्डेयले बताए । उक्त निर्णयलाई जिल्ला समितिमा समेत पठाउने उनले बताए । 

आयोगको जिल्ला समितिले भूमीहिन दलित, भूमीहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपूर्जा वितरण गर्ने अध्यक्ष पाण्डेयले बताए । 

बैतडीका १० ओटा स्थानीय तहमध्ये ९ ओटामा भूमी शाखा गठन गरिसकिएको छ । स्थानीय तहमा कार्यरत शाखा अधिकृतलाई उक्त शाखाको जिम्मेवारी दिएर काम अघि बढीरहेको अध्यक्ष पाण्डेयले बताए । दोगडाकेदार गाउँपालिका बाहेकका सबै स्थानीय तहमा भूमी शाखा गठन भइसकेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ८, २०८२  १७:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update