Sagun Khabar
बैतडीमा स्कुल बसको ढोकाबाट खसेर शिक्षकको मृत्यु 

बैतडी–स्कुल बसको ढोकाबाट खसेर बैतडीमा एक जना शिक्षकको मृत्यु भएको छ । 

जिल्लाको दोगडाकेदार गाउँपालिका–४ कपिन्ना घर भएका २८ बर्षीय विष्णुदत्त भट्टको बसको ढोकाबाट खसेर शनिबार साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बल्देव बडूले बताए । 

Atrya hospital

दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ९ गोकुलेश्वरमा रहेको चौलानी बोर्डिङ स्कुलमा कार्यरत भट्ट बसको ढोकाबाट खसेर गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याएको र उपचारका क्रममा उनको शनिबार साँझ सवा ६ बजेतिर मृत्यु भएको प्रहरी निरीक्षक बडूले बताए । 

विद्यालय भर्ना अभियानका लागि गोकुलेश्वरबाट पञ्ज्युनयाँतर्फ आइरहेको सुपप्र०४–००१क ००८ नम्बरको बसको ढोकाबाट डिलाशैनी गाउँपालिका–६ बांगाबगर भन्ने स्थानमा भट्ट शनिबार साँझ ६ बजेतिर खसेका थिए । 

बसको ढोकाबाट खसेर शिक्षक भट्टको मृत्यु भएपछि प्रहरीले बस चालक दार्चुलाको शैल्यशिखर नगरपालिका ५ का ६० बर्षीय उत्तरसिंह डाँगालाई नियन्त्रणमा लिएको छ । उनलाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक बडूले बताए । 

प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  ०८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update