
बैतडी –नेपाली कांग्रेस बैतडीले शिक्षकहरुको आन्दोलनमा समर्थन जनाएको छ । शिक्षकहरुले काठमाण्डौं केन्द्रित आन्दोलन गरिरहेका छन् । विद्यालय शिक्षा ऐन चाँडो जारी गर्नुपर्ने, नेपाल शिक्षक महासंघसंग भएको सम्झौता कार्यान्वयन हुनुपर्ने भन्दै शिक्षकहरु आन्दोलित भएका हुन् ।
कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले आज एक विज्ञप्ती जारी गर्दै नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलनप्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन् ।
नेपाल शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका मागहरुकासाथै विगतमा भएको सम्झौता कार्यान्वयन गर्नुपर्नेमा बैतडी कांग्रेसले जोड दिएको छ । शिक्षक महासंघले उठाएका जायज मागहरुलाई सम्बोधन गर्दै वार्ताबाट समस्या समाधान गर्न सरकारलाई आग्रह गरिएको सभापति चन्दले बताए ।
शिक्षकहरुले आन्दोलनमार्फत उठाएका मागहरुलाई सम्बोधन गरी वार्तामार्फत समस्याको समाधान गर्न सरकारलाई आग्रह गरिएको कुरा विज्ञप्तीमा उल्लेख गरिएको छ ।