Sagun Khabar
पुर्चौंडीमा क्षयरोगमुक्त अभियान : शंकास्पद १ सय ५७ जनाको खकार जाँच गरिँदै 

बैतडी–बैतडीको पुर्चौंडी नगरपालिकाले क्षयरोगमुक्त अभियान अन्तर्गत १ सय ५७ जना शंकास्पद क्षयरोगका बिरामीहरुको खकार संकलन गरेको छ । नगरपालिकाका पाँच ठाउँमा खोजपड्ताल शिविर सञ्चालन गरेर शंकास्पद बिरामीहरुको खकार संकलन गरिएको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुरेन्द्रप्रसाद अवस्थीले बताए । 

यही चैत १९ गतेदेखि २३ गतेसम्म नगरपालिकाका विभिन्न वडामा सञ्चालन गरिएको शिविरमा १ हजार २ सय ३७ जनाको चेकजाँच गरिएको उनले बताए । ती मध्ये छातीमा दाग देखिएका १ सय ५७ जनाको खकार संकलन गरेर परीक्षणका लागि जिल्ला अस्पतालको प्रयोगशालामा पठाइएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए । उनीहरुको रिपोर्ट आउन भने बाँकी रहेको छ । 

Atrya hospital

स्वास्थ्य निर्देशनालय दिपालयको प्राविधिक सहयोग र पुर्चौंडी नगरपालिकाको आयोजनामा एआइ जडित डिजिटल एक्सरेमार्फत नागरिकहरुको स्वास्थ्य चेकजाँच गरिएको अवस्थीले बताए । समुदायमा रहेका सम्भावित क्षयरोगका बिरामीहरुलाई उपचारको दायरमा ल्याउन शिविरको आयोजना गरिएको हो ।

पुर्चौंडी नगरपालिको वडा नं १,३, ५, ६ र ९ मा खोजपड्ताल शिविरको आयोजना गरिएको जनस्वास्थ्य निरीक्षक अवस्थीले बताए । 

पुर्चौंडी नगरपालिकामा हाल १९ जना क्षयरोगका बिरामी उपचारमा रहेका छन् ।  

प्रकाशित मिति: मंगलबार, चैत २६, २०८१  १०:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update