Sagun Khabar
बैतडीको पत्थरकोट गाड लघुजल विद्युत आयोजना सञ्चालनका बिषयमा छलफल

 बैतडी–बैतडीको सुर्नया गाउँपालिकाको वडा नं ७ स्थित पत्थरकोट गाड लघुजल विद्युत आयोजना सञ्चालनका बिषयमा छलफल गरिएको छ । 

आयोजनाको मेसिनमा खराबी आएपछि त्यसलाई मर्मत गर्ने बिषयमा सुर्नया गाउँपालिकाका अध्यक्ष अम्मरबहादुर कुँवरले स्थानीयहरुसंग छलफल गरेका हुन् । मेसिनमा समस्या आएपछि अहिले लघुजल विद्युत आयोजनाबाट विद्युत उत्पादन बन्द रहेको छ । 

Atrya hospital

लघुजलविद्युत आयोजनाको मेसिन मर्मतका बिषयमा स्थानीय उपभोक्ताहरुसंग छलफल गरेर प्राविधिक मगाउने बिषयमा कुराकानी भएको अध्यक्ष कुँवरले बताए । 

२०६१ सालदेखि निर्माण कार्य शुरु भइ २०६४ सालमा पत्थरकोट गाड लघुजल विद्युत आयोजना निर्माण कार्य सम्पन्न भएको थियो । १७ किलोवाट क्षमताको उक्त लघुजलविद्युत आयोजना ३९ लाख २४ हजार ६८५ रुपैयाँको लागतमा निर्माण गरिएको थियो । 

तत्कालिन जिल्ला विकास समिति, गाउँविकास समिति, गरिबि निवारण कोष, युएनडीपी र स्थानीयहरुको श्रमदानमा लघुजल विद्युत आयोजना निर्माण गरिएको थियो । 

उक्त लघुजलविद्युत आयोजनाबाट २ सय ९९ घरधुरीमा बिजुली बत्ती बलेको छ । 

लघुजलविद्युत आयोजनाको मेसिनमा खराबी आएकाले अवरुद्ध विद्युत सेवा सुचारु गर्न आवश्यक पहलका लागि छलफल गरिएको अध्यक्ष कुँवरले बताए । केही दिनभित्र प्राविधिक मगाएर उक्त समस्या समाधानका लागि प्रयास भइरहेको उनले बताए । 
 

प्रकाशित मिति: सोमबार, चैत २५, २०८१  ०९:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update