Sagun Khabar
झुलाघाट नाकाबाट ‘बिसु’का लागि घर फर्कदै परदेशी 

बैतडी –सुदूरपश्चिमका जिल्लाहरुमा नयाँ बर्षको शुरुवातको दिन मनाइने बिसु पर्वका लागि घर फर्कनेको लर्को लागेको छ । भारतसंग सीमा जोडिएको बैतडीको झुलाघाट नाकाबाट दैनिक स्वदेश फर्कनेको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय झुलाघाटका प्रमुख गंगाराम टमाटाले जानकारी दिए । 

रोजगारीका लागि भारत पसेका सुदूर र कर्णालीका विभिन्न जिल्लाका नागरिकहरु झुलाघाट नाका हुँदै घर फर्किन लागेका हुन् । मौसमी रोजगारीका लागि भारत पसेकाहरु बिसुका लागि घर फर्किन थालेका हुन् । 

बिसुको समयमा सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा देवीदेवताका मन्दिरहरुमा पूजापाठ समेत हुने भएकाले परदेश गएकाहरु घर फर्किन थालेका स्थानीय आनन्दमणी भट्टले बताए । कतिपय शक्तिपीठ तथा मन्दिरहरुमा बिसुका दिन जात्रा हुने गरेको छ । 

Atrya hospital

बिसुपर्वमा धार्मिक पूजाआजा सम्पन्न गरी नयाँ वर्षको दिन तितेपातीले नुहाएर मौलिक परिकार माडा, बटुक भातलगायतका खानेकुरा खाने चलन रही आएको छ । 

बिसुपर्वलाई विवाहित छोरी माइती घर आएर दुःखका व्यथा पोख्ने दिनका रूपमा पनि लिने गरिन्छ । कहीँकतै देवरले भाउजू र भाउजूले देवरलाई सिस्नुपानी लगाउने पर्वका रूपमा पनि मनाउने गरेको पाइन्छ । तर पछिल्लो समयमा यो चलन भने लोप हुँदै गएको छ । 

झुलाघाट नाकाबाट पछिल्लो एक हप्ता यता दैनिक डेढ सय बढी नागरिक स्वदेश फर्कने गरेका प्रहरीले जनाएको छ । 

बिसुका लागि घर फर्कनेहरुको सहजताका लागि झुलाघाट नाकामै ट्राफिक प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बताए । ट्राफिक नियम उल्लंघन गरेको पाइएमा कारवाही हुने उनले बताए । बिसुको समयमा सवारी साधनमा क्षमताभन्दा बढी यात्रु बोक्न सक्ने भएकाले ठाउँठाउँमा ट्राफिक प्रहरी खटाइएको प्रहरी निरीक्षक पाण्डेयले बताए । 

यातायात व्यवसायी र यात्रु दुवै पक्षलाई प्रहरीले सम्झाउने गरेको प्रहरी निरीक्षक पाण्डेयले बताए । उनले भने ‘हामीले चाडपर्वका बेला सवारी साधनमा भीडभाड हुन्छ । क्षमताभन्दा बढी यात्रु नबोक्न र यात्रुहरुले पनि सुरक्षित यात्रा गर्नुपर्ने कुरामा हामीले सम्झाउने गरेका छौं ।’

झुलाघाट नाकाबाट बिसु पर्वका लागि फर्कनेहरुलाई गन्तव्यसम्म पु¥याउन भ्याइनभ्याइ भएको सवारीचालक दानबहादुर क्षेत्रीले बताए । झुलाघाट नाकाबाट स्वदेश फर्किनेमा अधिकांश बैतडी र बझाङ जिल्लाका नागरिक रहेका छन् ।
 

प्रकाशित मिति: आइतबार, चैत २४, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update